मानव अधिकार आयोगमा विवाद, सदस्य मिहिर ठाकुरको कार्यकक्षमा ताला

काठमाडौं ।   सचिव नियुक्तिको विषयलाई लिएर सुरु भएको राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीबीचको विवाद उत्कर्षमा पुगेको छ । आयोगका सदस्य मिहिर ठाकुरले अरु पदाधिकारी र कर्मचारीहरुमाथि विभिन्न आरोप लगाउदै सामाजिक सञ्जालमा टिकाटिप्पणी गरिरहेका छन् । त्यसको प्रतिवादमा आयोगका अध्यक्ष तपबहादुर मगरले विज्ञप्ति नै निकालेर ठाकुरको ‘घृणायुक्त अभिव्यक्ति’ आचारसंहिताविपरीत भएको उल्लेख गरे । ‘सुरुमा सामान्य मतभेद थियो, यसरी बाहिर छरपष्ट भएको थिएन’, आयोग स्रोतले भन्यो, ‘सचिव नियुक्तिका बेलामा सुरु भएको विवाद उत्कर्षमा पुगेपछि सदस्य ठाकुरले जथाभावी अभिव्यक्ति दिने र अरु सदस्यहरुले प्रतिवाद गर्ने अवस्था भएको छ । पछिल्लो समय सामाजिक सञ्जालमा नै छरपष्ट हुनेगरी आक्रोश व्यक्त भएको छ ।’ आयोगको रिक्त सचिव पदमा हालका कामू सचिव मुरारीप्रसाद खरेल, बाग्मती प्रदेश कार्यालयका प्रमुख यज्ञप्रसाद अधिकारी र प्रवक्ता डा। टीकाराम पोखरेल आकांक्षी छन् । छनौटका लागि विभिन्न आधार तय गरिएकोमा यज्ञप्रसाद अधिकारी र डा। टीकाराम पोखरेलले लेख रचना प्रकाश र शोधमा बढी अंक ल्याए । प्रस्तुतिकरण र अन्तर्वार्तामा कामू सचिव खरेलले बढी अंक ल्याए । समग्रमा सहसचिव अधिकारी र खरेलको बराबरी प्राप्तांक भएपछि कार्यदलले खरेलकै नाम सिफारिस गरेको छ । त्यसप्रति असन्तुष्ट दुई प्रतिस्पर्धीहरुले मानव अधिकार आयोगकै बोर्ड, प्रधानमन्त्री कार्यालय लगायतका निकायमा उजुरी दिएका छन् । ‘सबै कुरा प्रक्रियासम्मत चल्दै गएको बेलामा सदस्य ठाकुरले यसलाई सचिव बनाउनुपर्छ, यसलाई हुदैन भन्दै सार्वजनिक अभिव्यक्ति दिनुभयो’, आयोग स्रोतले भन्यो, ‘त्यसपछि सार्वजनिक रुपमा नै आरोप प्रत्यारोप हुन थालेको हो । अहिले त्यो उत्कर्षमा पुगेको छ ।’ केही सातादेखि आयोगका काम कारवाही, पदाधिकारी र कर्मचारीहरुमाथि निरन्तर आक्रोश पोखेका ठाकुरले त्यहाँभित्र चरम बेथिती रहेकाले आफूले आवाज उठाएको प्रतिक्रिया दिए । ‘आयोगभित्र रहेका भ्रष्ट तत्वहरु विरुद्ध मैले आन्दोलन गरेको हुँ, त्यहाँ बेथिती भएकाले बोल्नु परेको हो’, उनले अनलाइनखबरसँग भने, ‘कर्मचारी नियुक्ति गैरकानुनी छ भनेर लोकसेवा आयोगका अध्यक्षले मलाई भन्नुभएको छ । आयोगका पदाधिकारीहरुले यो कुरा सुन्दैनन् । सबैलाई झ्यालबाट छिरेर लाभ लिन पाए पुग्छ । त्यही बेथिती विरुद्ध बोलेको हुँ ।’ उनले आयोगका कामू सचिव खरेलको बर्खास्ती हुनुपर्ने भनी सामाजिक सञ्चालमा आक्रोश पोखेका छन् । अनि केही कर्मचारीहरुको नाम लिएर यौन दुर्व्यवहारमा संलग्न भएको आरोप लगाएका छन् । सदस्य ठाकुरले चर्को अभिव्यक्ति दिन थालेपछि आयोगभित्र गठन भएको कर्मचारी क्लबले भेला गरेर सदस्य ठाकुरको कार्यकक्ष नै तालबन्दी गर्ने निर्णय गरेको थियो । क्लबमा आवद्ध कर्मचारीहरुले सदस्य ठाकुरको कार्यकक्षमा १५ मंसिरमा तालाबन्दी गरे । उनले माफी नमागेसम्म कार्यकक्षमा पस्न नदिने चेतावनी दिए । प्रतिक्रियास्वरुप सदस्य ठाकरले कार्यकक्ष बाहिर टाँसिएको विज्ञप्तिको फोटो खिचेर सामाजिक सञ्जालमा राखिदिए अनि ‘भ्रष्ट प्रवृत्तिलाई संरक्षण गर्न खोजिएको’ भनी प्रतिक्रिया लेखे । आइतबार मानव अधिकार आयोगका सदस्य तपबहादुर मगरले सदस्य मिहिर ठाकुरको भनाइमा विश्वास नगर्न आग्रह गर्दै विज्ञप्ति जारी गरे । ठाकुरको अभिव्यक्तिले आयोगका पूर्वपदाधिकारी, कर्मचारीको गरिमा र मर्यादामा असर परेको उनले उल्लेख गरेका छन् । आयोगका एक कर्मचारीका अनुसार, सदस्य ठाकुरलाई बोलाएर सम्झाउदा समेत संयमित नभएपछि आयोगका अध्यक्षले विज्ञप्ति निकालेका हुन् ।अध्यक्ष तपबहादुर मगरले मगरले ठाकुरको अभिव्यक्तिबाट मानव अधिकारकै उल्लंघन भएको भन्दै त्यसप्रति दुःख व्यक्त गरेका छन् । अनि ठाकुरले व्यक्त गरेका अपुष्ट विवरणबाट भ्रममा नपर्न आग्रह गरेका छन् । ‘पछिल्लो समय आयोगका कर्मचारीलाई लक्षित गरी आएका अपुष्ट विषयवस्तु र शब्दहरुलाई मानव अधिकारमैत्री मान्न सकिदैन’ विज्ञप्तिमा भनिएको छ, ‘यसबाट संविधानले परिकल्पना गरेको उच्च नैतिक चरित्रमा ह्रास आउनुका साथै मानव अधिकार आयोगको आचारसंहिताको समेत पालना हुन सकेको देखिएन ।’
अनलाईन खबरवाट साभार

error: Content is protected !!