मन्त्री किरातीले भने  भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई ५ लाख पुरस्कार दिन्छौं

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित रूपमा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई प्रत्येक उडानमा ५ लाख रुपैयाँ प्रोत्साहन पुरस्कार दिनेगरी सरकारले कार्यक्रम ल्याउन लागेको बताएका छन्।नेपाल एशोसियसन अफ ट्राभल्स एण्ड टुर एजेन्ट नाट्टा लुम्बिनी प्रदेशको एक प्रतिनिधि मण्डलसँग आइतबार मन्त्रालयमा भएको छलफल पश्चात मन्त्री किरातीले उक्त कुरा बताएका हुन् । ‘भैरहवा र पोखराबाट जतिसक्दो छिटो अन्तर्राष्ट्रिय उडान गर्नेगरी हामी लागिरहेका छौं। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरा विमानस्थलबाट जसले नियमित उडान गर्छ त्यसलाई इनाम स्वरूप प्रत्येक उडानमा ५ लाख रुपैयाँ दिने तयारी गर्दैछौं, मन्त्री किरातीले भने।मन्त्री किरातीले नेपाल वायुसेवा निगमको जहाज भैरहवा पठाउन मन्त्रालय तयार रहेको बताए। ‘हामीसँग अहिले जहाज कम छन्, अहिले जम्मा चारवटा मात्रै जहाज रहेकाले पनि केहि समस्या भएको छ तर, भैरहवा र पोखराबाट अन्तर्राष्ट्रिय उडान नगरी हुँदैन,’ उनले भने। पर्यटन व्यवसायीको सकारात्मक सहयोगले सरकारलाई काम गर्न सहयोग मिल्ने मन्त्री किरातीले बताए। मन्त्री किरातीले ४३ अर्ब बढी राज्यको लगानी रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई हेरेर निजी क्षेत्रले ७० अर्ब बढी लगानी गरेको भन्दै त्यसप्रति आफू चिन्तित रहेको बताए। मन्त्री किरातीले आफू भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्नुपर्छ भन्नेमा दृढ रहेको उल्लेख गर्दै सरकारी व्यवस्थापनमा केही समस्या आइहाले पनि निजी क्षेत्रसँग सहकार्य गरेर भएपनि विमान संचालन गर्ने बताए ।‘सरकारी व्यवस्थापनमा केही समस्या भएपनि निजी क्षेत्रसँग सहकार्य गरेर भएपनि चलाउँछौं, हामी जसरी पनि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्नुपर्छ भन्नेमा छौं,’ उनले भने। मन्त्री किरातीसँगको छलफलमा नाट्टा लुम्बिनीका अन्तर्राष्ट्रिय हवाई यातायात समन्वय समितिको संयोजक सञ्जिब जोशीले भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको थालनी तत्काल गर्न माग गरेका थिए । लुम्बिनीको तर्फबाट ९ बुँदे ज्ञापनपत्र बुझाउँदै निवर्तमान अध्यक्ष सागर अधिकारीले भैरहवाको अन्तर्राष्ट्रिय उडानलाई नियमित गर्न सबैभन्दा पहिले नेपाल वायुसेवा निगमको जहाजले उडानलाई नियमित गर्नुपर्ने बताएका थिए। ‘नेपाल वायुसेवा निगमको जहाजलाई भैरहवा-दिल्ली, भैरहवा-काठमाडौं नियमित उडान सुरू गराउनुस् जहाजका सिट भरेर हामी पठाइदिन्छौं,’ अधिकारीले भने। त्यसअघि नाट्टा लुम्बिनीको प्रतिनिधिमण्डलले आइतबार नै नेपाल वायुसेवा निगमका नायब महाप्रबन्धक जनकराज कालाखेतिलाई समेत नेपाल वायुसेवा निगमको जहाजबाट नियमित उडान सुरू गराउन माग गर्दै ज्ञापनपत्र बुझाएको थियो। पर्यटन व्यवसायीहरू अधिकारी र जोशीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा नाट्टा लुम्बिनीका उपाध्यक्ष कुलचन्द्र पाण्डे, महासचिव अन्जन श्रेष्ठ, नवलपरासी च्याप्टर अध्यक्ष भोला पराजुली, नाट्टा कार्यसमिति सदस्य बरुण ज्ञवाली र प्रेस सल्लाहकार नरेश केसीको सहभागीता रहेको थियो।
सेतोपाटी बाट साभार