मधेस प्रदेशमा माओवादी केन्द्रको जनमत खस्किँदै

काठमाडौँ । तराईको आठ जिल्ला समेटिएर बनेको मधेस प्रदेशमा माओवादी केन्द्रको तुलनात्मक रूपमा अन्य प्रदेशमा भन्दा जनमत निकै खस्किएको छ ।साउनको तेस्रो साता सकिएको केन्द्रीय समिति बैठकको निर्णयअनुसार मधेससहित देशभर पार्टी रूपान्तरण विशेष अभियान जारी छ । तर मधेसमा तीन महिने अभियानले माओवादी जाग्न बाँकी नै रहेको स्थायी कमिटी सदस्य एवं अभियानको बारा जिल्ला इन्चार्ज प्रह्लाद बुढाथोकीको बुझाइ छ । अन्य प्रदेशको तुलनामा मधेसमा विशेष समस्या देखिएका पार्टीलाई चलायमान बनाउन नयाँ कार्यक्रम ल्याउनुपर्ने उनको तर्क छ । तर समग्रमा अभियानले संगठनलाई चलायमान बनाउन राम्रै सङ्केत गरेको बुढाथोकीले बताए ।‘तीन महिने अभियानले मधेसमा माओवादी जाग्न बाँकी नै रहेको छ । प्रयत्न जारी छ । त्यही अनुसार गतिविधि भएका छन् । कतै जागेको छ । मुख्य पार्टीलाई चलायमान बनाउने प्रयास हो । त्यसअन्तर्गत विभिन्न गतिविधि भएको छ । अभियानले राम्रै सङ्केत गरेको छ’, उनले भने ।अहिलेको तयारीले २०८४ को चुनाव जित्न नसकिने र पार्टीलाई झकझकाउने तथा चलायमान बनाउने काम भएको उनले बताए । ‘पार्टीलाई नयाँ ढङ्गले नढालीकन अगाडि बढ्न त्यति सजिलो छैन । त्यसका लागि नयाँ कार्यक्रम आउनुपर्छ’, उनले भने, ‘अभियानपछि सङ्गठनात्मक क्षेत्रमा काम गर्न नयाँ कार्ययोजना सङ्गठन निर्माण, विस्तारको तयारीका लागि अर्को योजना आउँछ । त्यसपछि केही भन्न सकिन्छ ।’मुख्य कुरा पार्टी विधि र पद्धतिमा नबढेकै कारण समस्या उनको अनुभव छ । उनले पार्टी र नेतृत्वको कार्यशैली, जीवन शैलीमाथि अनेकौँ प्रश्न उठेकाले विधि, पद्धति र प्रक्रियामा ढाल्ने नै चुनौती रहेको बताए ।‘पार्टी र नेतृत्वको कार्यशैली, जीवन शैलीमाथि अनेकौँ प्रश्न उठेका छन् । विधि, पद्धति र प्रक्रियामा ढाल्ने चुनौती छ । यी कुरा नभई अन्य काम गर्न सकिँदैन । त्यसलाई रूपान्तरण गर्ने कुरा हो । जनतामा माओवादीप्रति ठुलो अपेक्षा थियो’, तीन महिनाको अनुभव सुनाउँदै उनले भने, ‘सामान्य सांस्कृतिकवादी कोणबाट सोच्नेहरूले उनीहरूलाई भोट दिइरहेका छन् । क्रान्तिकारी र आमूल परिवर्तनकारी सोचमा विकास भए, त्यसबाट प्रभावित भए उनीहरूमात्र रहने हुन् । जसबाट ठुलो परिवर्तन भइरहेको छ भन्ने कुरा जनताले महसुस गरेनन् । त्यसले जनतामा चरम निराशा देखिन्छ । अहिलेको मुख्य समस्या नै यही हो । हामीले उठाएका एजेन्डाहरू पूर्णरुपमा कार्यान्वयन गर्न नसकेको स्थिति हो । पार्टीमा पनि विधि र पद्धतिमा लान सकेनौँ ।’मधेसको समस्याबारे अहिले नै समीक्षा गरेर ठोस धारणा बनाइसकेको उनले बताए । उनकाअनुसार प्रक्रियामै रहेकाले समीक्षा बैठकपछि ठोस रूपमा भन्न सकिन्छ । मुख्य रुपमा पार्टी जुन ढङ्गले निर्माण हुनुपर्ने त्यसबमोजिम हुन नसकेकोले पार्टी खस्किँदै गएको उनको बुझाइ छ ।‘मधेसमा अन्त भन्दा फरक समस्या छ । अशिक्षा, गरिबी, उत्पीडनलगायतको समस्या छ । चेतनाको स्तर निकै कमजोर छ । यी सबै हिसाबले पार्टी अलि खस्किएको छ । त्यसका पार्टीभित्र गुटबन्दीका कुराहरू छन् । गुटबन्दी अन्तभन्दा मधेसमा चर्को छ । गुटबन्दीले संगठनलाई शिथिल बनाएको छ । नेता तथा कार्यकताको चेतनाको कुराले जनता नेतामुखी हुँदा समस्या आएको छ । त्यसैले पैदा गरेको समस्या पनि हो’, बुढाथोकीले बताए ।नयाँ दलप्रति जनता आकर्षित हुनु स्वभाविक हुने उनको तर्क छ । उनले पुराना दलहरूले परिणाम दिन नसक्दा समस्या आएको बताए ।माओवादीको हकमा पार्टीलाई व्यवस्थित रूपमा परिचालन गर्न नसक्नु, चुनावी टेक्निक नबुझ्नु, जुन हरकत छन्, ती चिजहरू यहाँको सापेक्षतामा परिचालन गर्न नसक्नु कमजोरी रहेको उनको भनाइ छ । त्यस्तै जात, धर्म र समुदायका आधारमा प्रभावित हुने जनमत बढी भएकाले मधेसमा विशेष कार्यक्रम आवश्यक रहेको बुढाथोकीले बताए ।३२ वटा निर्वाचन क्षेत्र रहेको मधेसमा २०७४ मा माओवादीले ५ सिट जितेको थियो । मधेस प्रदेश सभामा प्रत्यक्षमा ६ वटा सिट जितेको थियो । स्थानीय तहको चुनावमा माओवादीले २१ वटा पालिका जितेको थियो । तर २०७९ को चुनावमा प्रतिनिधिसभातर्फ एक सिट पनि जित्न सकेन । यस्तै माओवादीले प्रदेश सभामा चार वटा सिट जितेको छ । जबकि अघिल्लो चुनावमा ६ वटा सिट जितेको थियो । स्थानीय तहतर्फ मधेसका २१ वटा पालिका जितेको माओवादी यो पटक १० वटा पालिकामा खुम्चिएको छ ।

रातो पार्टि बाट साभार