काठमाडौं : दोलखाको तन्नेरी चासोले आयोजना गरेको ‘वैदेशिक रोजगारीले देश विकासमा योगदान पुर्याउछ’ शीर्षकको वादविवाद प्रतियोगितामा कन्चन तामाङको पक्षले प्रथम स्थान हासिल गरेको छ।दोलखाको माध्यमिक विद्यालयका विद्यार्थीहरूबीच भएको वादविवादमा कन्चनको पक्ष प्रथम भएको हो।‘वैदेशिक रोजगारीले देश विकासमा योगदान पुर्याउँछ’ पक्षमा कन्चन‚ तिर्सना श्रेष्ठ, निकिता बस्नेत र बन्दिका मुगरातीको टोलीले तथ्यगत विवरणसमेत पेश गरेका थिए।सरल भाषा, विषयगत अध्ययन, अर्थपूर्ण तार्किक विचारका कारण कन्चनको टोलीले प्रथम स्थान हासिल गर्न सफल भएको निर्णायक मण्डलका संयोजक नविन सिलवालले बताए।यस्तै, दावा तामाङको टोलीम उप-विजेता भएको थियो। अविनाश बुढाथोकी, रिचा दुलाल, अजपा शिवाकोटीसहित दावाको टोलीले वैदेशिक रोजरगारीले देश विकासमा योगदान पुर्याउँदैन भन्ने पक्षबाट तर्क पेश गरेका थिए।दावाको टोलीले पनि उत्तिकै प्रभावकारी ढंगले तर्क पेश गरेको थियो। पक्ष र विपक्षले प्रभावकारी ढंगले तर्क पेश गरे पनि निर्णायक मण्डलले ‘वर्ल्ड स्कुल डिबेट च्यापियनसिप’ को फर्म्याटअनुसार निर्णय सुनाएका थिए।तन्नेरी चासोले १० वर्षदेखि ‘गुनासो होइन, प्रश्न गरौं’ भन्दै युवाहरूलाई सार्वजनिक चासोको विषयमा सरोकारवाला पक्षलाई खबरदारी गर्न प्रेरित गरिरहेको उनको भनाइ छ।तन्नेरी चासोका सिइओ नविन सिलवालले देशको सामाजिक, राजनीतिक, सुशासन र भ्रष्टाचारविरूद्ध विभिन्न माध्यमबाट खबरदारी गर्दै आइरहेको र खबरदारी गर्ने विभिन्न माध्याममध्ये युवाहरूलाई डिबेटको माध्यमबाट सार्वजनिक चासोमा बहस गर्न उत्प्रेरित गरिएको बताए।उनका अनुसार मंसिर ११ गतेबाट गौरीशंकर बहुमुखी क्याम्पसमा डिबेट तालिम सुरू गरिएको थियो। उक्त तालिममा विभिन्न विद्यालयका ३१ जना विद्यार्थी सहभागी भएका थिए।कार्यक्रमका प्रमुख अतिथि एवं भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरले तन्नेरी चासोको अभियानले समाजका युवाहरूलाई सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गरे।नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का अध्यक्ष तारानाथ चौलागाईले समाजमा यस्ता बहस आवश्यकता बढ्दै गएको भन्दै आफ्नो वडामा डिबेट कार्यक्रम गर्ने बताए।कार्यक्रममा कालिञ्चोक माध्यमिक विद्यालयका प्रअ शम्भु गौतम, गौरीशंकर बहुमुखी क्याम्पसका सहायक प्राचार्य सुवास रिमाल, द राइजिङ स्टार स्कुलका प्रेमप्रसाद अधिकारीलगायतले धारणा राखेका थिए। सो तालिममा गणेश बुढाथोकी र साम्भवी चापागाइले प्रशिक्षण दिएका थिए।
थाहा खबर बाट साभार