काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकारले गरेको राम्रो कामलाई पार्टी संगठनले नै राम्रो भन्न नसकेको गुनासो गरेका छन् । पार्टीको नयाँ वेबसाइट सार्वजनिक गर्दै माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले सरकारको तर्फबाट इमान्दार प्रयत्न भइरहेको बताए । पछिल्लो पटक नेपाल सम्वतबारे गरेको निर्णयलाई उपत्यकाको नेवार समुदायले राम्रो मानेको भन्दै उनले भने, ‘अरुले राम्रो भनेका छन्, बधाई दिएका छन् । तर हाम्रै संयन्त्र चाहिँ कताकता राम्रो भन्न तयार भएको देखिँदैन ।’ आत्मविश्वासका साथ सरकारले गरेको कामको पक्षमा उभिन उनले नेता कार्यकर्तालाई आग्रह गरे । आइतबार मात्र आफूले सुकुम्बासी समस्या समाधानका लागि एक साताभित्र ऐन संशोधन गर्ने निर्णय गरेको उनले सुनाए । वन ऐन पनि संशोधन गर्ने निर्णय भएको भन्दै उनले त्यसपछि सुकुमबासी समस्या समाधान हुने दाबी गरे । स्कुलको अगाडि रहेको रुख ढलेर विद्यार्थीको मृत्यु भयो, तर रुख काट्न वनले अनुमति नदिएको भन्दै उनले भने, ‘त्यसलाई बदल्ने भनेर हामीले निर्णय गरेका छौं । त्यो ऐन संशोधनपछि लालपूर्जा वितरण वा वनले रोकेको विकास निर्माणका काम हुन्छ । त्यो खुल्नेवित्तिकै ठूलो क्रान्ति हुन्छ भन्ने मेरो विश्वास छ ।’
अनलाईन खबरवाट साभार