कालिकोट । फेसबुक सञ्चालक संस्था मेटा इन्कमाथि अभिभावकको स्वीकृतिबिना १३ वर्षमुनिका ११ लाख बालबालिकाको तथ्याङ्क संकलन गरेको आरोप लागेको छ । न्यूयोर्क टाइम्समा प्रकाशित खबरअनुसार ३३ अमेरिकी राज्यका महान्यायाधिवक्ताहरूको समूहले संघीय अदालतमा दायर गरेको मुद्दामा मेटाले सन् २०१९ देखि गोप्य रूपमा १३ वर्ष मुनिका बालबालिकाको डाटा सङ्कलन गरिरहेको आरोप लगाएका छन् । यस अवधिमा मेटाले करिब ११ लाख बालबालिकाको स्थान, इमेल, च्याट, फोटो र अन्य जानकारी सङ्कलन गरी बजारमा आफ्नो फाइदामा प्रयोग गरेको उनीहरूको जिकिर छ । मेटाले गोपनीयता कानुनको उल्लङ्घन गरेको आरोप उजुरीमा जिकिर गरेको छ । यो आरोप प्रमाणित भएमा मेटाले लाखौं डलर वा सोभन्दा बढी जरिवाना तिर्नुपर्ने हुनसक्छ । मार्क जुकरबर्गको स्वामित्वमा रहेको यस कम्पनी विरुद्ध गत महिना क्यालिफोर्निया, न्यूयोर्क, कोलोराडो जस्ता राज्यहरूले क्यालिफोर्नियाको उत्तरी जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । उजुरीमा मेटाले नियतवश यस्ता सुविधाहरू सिर्जना गरेको जसले बालबालिकाहरूमा लाइकको लत लाग्ने आरोप लगाइएको थियो । यद्यपि मेटाले आफ्नो प्लेटफर्म सुरक्षित रहेको दाबी गर्दै राज्यहरूले अदालतको बाटो रोज्नु निराशाजनक रहेको उल्लेख गरेको छ ।