संघीय लोकतान्त्रिक गणतान्त्रात्मक प्रणालीलाई कमजोर बनाउन सरकारकै संलग्नता भएको एमालेकाे आशंका

 

काठमाडौँ । नेकपा एमालेले संघीय लोकतान्त्रिक गणतान्त्रात्मक प्रणालीलाई कमजोर बनाउन सरकारकै संलग्नता भएको आशंका जन्मिएको बताएको छ ।बुधबार बसेको केन्द्रीय कमिटीको बैठकले तीन बुँदे समसामयिक प्रस्ताव पारित गर्दै यस्तो आशंका गरेको हो । एमालेले सत्ता गठबन्धनको स्वार्थका लागि राज्यका निकायहरूमा हस्तक्षेप गर्ने, तिनलाई कमजोर बनाउने र राज्यका निकायको विश्वसनीयता समाप्त पार्ने काम सरकारबाटै भइरहेको आरोप लगाएको छ ।‘जनताले बलिदान गरेर ल्याएको लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानका विरुद्ध समाजलाई दिग्भ्रमित पार्ने, राजनीतिक लेपनको आडमा विभिन्न राजनीतिक अपराधहरूबाट उन्मुक्ति खोज्ने, राजनीतिक नेतृत्वका विरुद्ध निराधार लाञ्छना, गालीगलौज र चरित्रहत्या गर्ने, समाजलाई प्रदूषित पार्ने, जातीय र धार्मिक सहिष्णुतामा खलल पुर्‍याउने जस्ता अराजक गतिविधिहरू बढिरहेका छन्’, एमालेले भनेको छ,‘यसबिचमा कतिपय ठाउँमा धार्मिक दङ्गाहरू समेत गराइएका छन् । तर, यस्ता अराजक क्रियाकलापप्रति गम्भीर भएर नियन्त्रणमा लाग्नुको साटो वर्तमान गठबन्धन सरकार त्यस्ता गतिविधिहरूलाई उल्टै बढावा दिइरहेको छ ।’एमालेले लोकतान्त्रिक गणतन्त्रका विरुद्ध भइरहेका अराजक क्रियाकलापहरूको निन्दा गर्दै लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि दृढ सङ्कल्प रहेको जनाएको छ ।

रातो पार्टि बाट साभार गरिएको

तपाईको प्रतिक्रिया
error: Content is protected !!