मन्त्रिपरिषद्को बैठकले १६औँ पञ्चवर्षीय आवधिक योजनाको अवधारणापत्र स्वीकृत गरेको छ । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले पहिचान गरेका एक दर्जन रूपान्तरणकारी योजना १६औँ योजनामा समावेश हुँदै छन् । समष्टिगत आर्थिक आधारहरूको सबलीकरण, उत्पादन तथा उत्पादकत्व अभिवृद्धि, मर्यादित समावेशी रोजगारीका अवसरको सिर्जना, मानव पुँजी निर्माण र उत्कृष्ट जनशक्ति योजनालाई १६औँ आवधिक योजनाको रूपान्तरणकारी क्षेत्र मानिएको छ ।गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य प्रणाली, गुणस्तरीय पूर्वाधार र व्यवस्थित सहरीकरण, सामाजिक सशक्तीकरण, समावेशीकरण र सामाजिक सुरक्षालाई समेत १६ औँ योजनाको संरचनात्मक रूपान्तरणका क्षेत्रका रूपमा पहिचान गरिएको छ । सुशासन, सामाजिक न्याय र समृद्धिको सोच लिएको १६औँ योजनाको मूल उद्देश्य राजनीतिक, प्रशासनिक र न्यायिक क्षेत्रमा सुशासन कायम गर्नु हो । स्वास्थ्य, शिक्षा, रोजगारी, आवासलगायतका क्षेत्रमा सामाजिक न्याय स्थापित गर्नु हो । सामाजिक जीवन, आर्थिक विकास तथा राष्ट्रिय अर्थतन्त्रमा समृद्धि हासिल १६औँ आवधिक योजनाको मूलभूत लक्ष्य रहनेछ । आयोगका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले योजनाको पूर्ण दस्ताबेजमा २०१३ सालदेखि बनेका आवधिक योजनाको सङ्क्षिप्त समीक्षा समावेश गर्न र १६औँ योजनालाई यथार्थपरक बनाउन निर्देशनसमेत दिइसक्नु भएको छ ।नेपाल सरकार एसडीजी (दिगो विकासका लक्ष्यहरू) हासिल गर्न र तिनलाई तीनै तहका सरकारमा मूल प्रवाहीकरण र स्थानीयकरण गर्न पूर्णरूपमा प्रतिबद्ध छ । हामीले सबै स्थानीय तहमा एसडीजी स्थानीयकरण कार्यक्रम सञ्चालन गरेका छौँ । मध्यम अवधिको व्यय ढाँचा, वार्षिक बजेट र क्षेत्रगत रणनीतिसँग मिलाएर योजना, अनुगमन र मूल्याङ्कनको दिशानिर्देश गरिएको छ ।१६ औँ आवधिक योजना दिगो विकासका लक्ष्यहरू हासिल गर्न संविधानले नै मानेको अर्थतन्त्रको तीनवटा खम्बा सरकार, निजी क्षेत्र र सहकारीसँगै नागरिक समाज र विकास साझेदारहरूलाई समेत महत्त्वपूर्ण साझेदारको रूपमा लिएका छौँ । नेपालले सन् २०३० सम्ममा दिगो विकासका लक्ष्यहरू हासिल गर्न अथक प्रयासलाई अगाडि बढाइरहेको छ । सङ्घ, प्रदेश र स्थानीय सरकारका नियमित कार्यक्रम, नीतिगत सूचक र लक्ष्यहरूमा एसडीजीका सूचक तथा लक्ष्यहरूलाई आन्तरिक रूप दिइएको छ । हालको १५औँ योजना एसडीजीसँग मिल्दोजुल्दो छ । हामीले विभिन्न तहमा संस्थागत संयन्त्र पनि बनाएका छौँ ।
रातो पार्टि बाट साभार गरिएको हो ।