पानी हालेको दुध छ्याप्छ्याप्ती, अनुगमन शून्य

विराटनगर । देशभरि दुध तथा दुग्धजन्य वस्तुको बिक्री कम भएको उत्पादकहरू बताउँछन् । साना तथा ठुला डेरी उद्योगहरुमा दुग्धजन्य वस्तु घिउ, पाउडर, पनिर स्टकमा रहे पनि बिक्री हुन सकेको छैन । जसले गर्दा उद्योगीहरु समस्यामा छन् ।तीजमा भन्दा दसैँ र तिहारमा घिउ बिक्री केही बढेको व्यवसायीहरु बताउँछन् । तर, स्टकमा रहेको मालको खपत भने २५ प्रतिशतमात्रै भयो । छठसम्ममा केही बिक्री हुने व्यवसायीको अपेक्षा भए पनि आफूहरू घाटामा पर्ने भन्दै उनीहरुले चिन्ता व्यक्त गरिरहेका छन् ।कोशी प्रदेशका दुग्ध व्यवसायीहरू बजार खोज्दै बंगलादेशसम्म पुगेका छन् । तर, उक्त कदमले पनि हालसम्म सार्थकता पाउन सकेको छैन । खासमा दुध बढेको हो कि खपत घटेको हो ? यस विषयमा किसान तथा डेरी उद्योगी व्यवसायी, साना सहकारीहरुमा चासो बढेको छ ।२०७९ चैत महिनादेखि नेपालमा दुधको मूल्य बढ्यो । मूल्य बढेसँगै नेपालको सीमावर्ती क्षेत्रबाट भारत निर्यात हुने दुध ठप्प भयो । झापा, मोरङ र सुनसरीबाट दुध तथा दुग्धजन्य वस्तुहरु घिउ र पनिर भारतको सीमावर्ती बजारमा जाने गर्दथ्यो । त्यसरी भारतमा दैनिक सरदर ३ हजारदेखि ३ हजार ५ सय लिटरसम्म दुध निर्यात हुने गरेको व्यवसायी राजकुमार खनाल बताउँछन् ।उनी आफैँ पनि भारततिर दुध निर्यात गर्दथे । तर, अहिले ठप्प भएको उनी सुनाउँछन् । दुध निर्यात ठप्पमात्रै भएन, बरु, त्यतिनै परिमाणको दुध नेपालका सीमाक्षेत्रका बजारमा भारतबाटै आउन थाल्यो । जसका कारण दैनिक ६ हजारदेखि ७ हजार लिटर दुध नेपाली बजारमा बढी भयो ।एकातिर दुध उत्पादन बढ्नु, दुधको मूल्य बढ्नु र भारतबाटै सस्तोमा दुध आउन थाल्दा नेपालको दुध बढी हुनु स्वाभाविक थियो ।बजारमा दुध बढ्नुको अर्को कारण पनि छ । बजारमा दुधको मूल्य बढ्नु अगाडि कोशी प्रदेशका डेरी उद्योगहरुले पर्याप्त दुध संकलन गरेर पाउडर बनाए । उनीहरुले त्यही बेला घिउ, पनिर पनि पर्याप्त बनाए । दुधको मूल्य बढेपछि पाउडर घोलेर बेच्ने तथा घिउ र पनिर बेच्ने उनीहरुको तयारी थियो । बजारमा उनीहरुले सोचे अनुसार जेठ, असारमा पनि दुध उत्पादन घटेन । त्यसपछि ठूला डेरी उद्योगहरुले सानातिना कलेक्सन सेन्टरहरुमा मिल्क होलिडे कामय गरे ।साना कलेक्सन सेन्टरहरुले भने आफैँ मोटरसाइकलमा वा गाडीमा बोकेर ल्याएर विराटनगर, धरान, इटहरी, विर्तामोड, दमकजस्ता बजारमा दुध बिक्री गर्न थाले । उनीहरुले ल्याएको दुधमा केही पानीको मात्रा पनि बढ्यो । बजारमा दुधको मूल्य पनि प्याकेजिङ दुधभन्दा सस्तो भयो । अनुगमन भएन । जसका कारण दुध बढी भएको डेरी पसल सञ्चालकहरु बताउँछन् ।‘त्यसरी बिक्री हुँदा न्यूनतम गुणस्तर कायम भएन । विराटनगर महानगरमै बिना दर्ता सयौँको संख्यामा दुधका गाडी कहाँबाट आउँछन्, कति कारोबार गर्छन्, अभिलेख राखेर करको दायरामा ल्याउने कुनै तयारी स्थानीय सरकारले पनि गरेन,’ एक डेरी सञ्चालक भन्छन्, ‘खुला दुधमा उपभोक्ताको रुचि छ । तर, यसलाई निश्चित मापदण्ड बनाई पसल सञ्चालन गर्ने वातावरण बनेको छैन ।’अहिले कुनै पनि मापदण्डको पालना नभएको उनको भनाइ छ । अनुगमन नभएपछि बिक्री गर्नेले मनोमानी गरिरहेको र बालबालिका तथा बुढाबुढीले विषाक्त दुध खाइरहेको उनले बताए । विदेशबिक्री हुन छोडेपछि मोरङका केही डेरी उद्योगले इलाममा छुर्पी बनाउन दुध पठाएको बताएका छन् । मोरङ कानेपोखरीको नवदुर्गा डेरी उद्योगका सञ्चालक राजकुमार खनालले केही दिनका लागि छुर्पी बनाउन दुध इलाम पठाएको बताए ।यद्यपि त्यहाँका छुर्पी उद्योगले निरन्तर दुध लैजान नसकेको उनको भनाइ छ । नेपालको छुर्पी विदेश निर्यात हुने गरेको छ । छुर्पीको निर्यात भने बढ्दै गएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।आर्थिक वर्ष २०७९-०८० मा १७ लाख ८६ हजार ११२ किलोग्राम छुर्पी विदेश निर्यात भएको थियो । जसबाट नेपालमा ३ अर्ब ४० करोड ९० लाख ७३ हजार रुपैयाँ भित्रिएको थियो ।

रातो पार्टि बाट साभार