नेपालमा मातृमृत्यु : ५७ प्रतिशत आमाले अस्पतालमै गुमाउँछन् ज्यान

 

काठमाडौं : नेपालमा सबैभन्दा धेरै मातृमृत्यु लुम्बिनी प्रदेशमा हुने गरेको पाइएको छ। स्वास्थ्य सेवाको पहुँचबाट सुगम मानिएको लुम्बिनी प्रदेशमा देशभरका अन्य प्रदेशको तुलनामा सबैभन्दा धेरै सुत्केरी आमाको मृत्यु भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशमा प्रतिएक लाख जीवित जन्ममा २०७ आमाको मृत्यु हुने गरेको देखिएको छ।तर देशभरको समग्र मातृमृत्यु दर हेर्ने हो भने नेपालमा प्रति एक लाख जीवित जन्ममा १५१ जना आमाको मृत्यु हुन्छ। देशभरको समग्र मातृ मृत्युदरमा सुधार आए पनि प्रदेशस्तरमा हेर्दा लुम्बिनी प्रदेशमा अझै पनि मातृमृत्यु दर धेरै छ।१२औं राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनले नेपालमा मातृमृत्युमा सुधार आएको देखाएको थियो। यसै सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश स्तरमा मातृमृत्यु दर कस्तो छ भनेर गरेको अध्यनमा देशभर रहेका सात प्रदेशमध्ये लुम्बिनी प्रदेशमा मातृमृत्यु दर उच्च रहेको पाइएको हो।अचम्मको कुरा के छ भने स्वास्थ्य सेवाको पहुँचको हिसाबले हेर्दा कर्णाली प्रदेशभन्दा पनि सुगम रहेको लुम्बिनी प्रदेशमा कर्णाली प्रदेशमा भन्दा धेरै मातृमृत्यु दर हुने गरेको देखिएको छ। हाल कर्णाली प्रदेशमा प्रति एक लाख जीवित जन्ममा १७२ आमाको मृत्यु हुने गरेको देखिएको छ।गर्भावस्थादेखि सुत्केरी भएको ४२ दिनसम्ममा हुने महिलाको मृत्युलाई मातृमृत्यु दर भनिन्छ।प्रदेशस्तरमा हेर्दा लुम्बिनी प्रदेशको मातृमुत्युदर २०७ रहेको छ। यस्तै कर्णालीको १७२,गण्डकी प्रदेशको १६१, कोशी प्रदेशको १५७, मधेश प्रदेशको १४० रहेको छ भने सबै भन्दा कम बाग्मती प्रदेशको ९८ रहेको छ। यी सबै प्रदेशको मातृमुत्यु दर हुने संख्या प्रतिएक लाख जीवित जन्ममा हुने आमाको मृत्युको संख्या हो।स्वास्थ्य मन्त्रालयको विवरण अनुसार अझै पनि नेपालमा हुने कुल मातृमुत्युको ५७ प्रतिशत अस्पतालमा नै हुने गरेको छ। यस्तै २६ प्रतिशत घरमा र १७ प्रतिशत मातृमुत्यु दर गर्भावस्थाको वेला वा प्रसूतिको समयमा एक स्वास्थ्य संस्थाबाट अर्को स्वास्थ्य संस्थामा हुने गरेको पाइएको छ।यसमा पनि कुल मातृमुत्यु दरमा ६१ प्रतिशत प्रसूती अवस्थामा (सुत्केरी भएको ४२ दिनसम्म)मा ३३ प्रतिशत मातृमृत्यु गर्भावस्थाको समय र ६ प्रतिशत मातृमृत्यु बच्चा जन्माउने बेला (प्रसव) को समयमा हुने गरेको देखिएको छ।

थाहा खबर बाट साभार

error: Content is protected !!