काठमाडौँ । नुवाकोटको सदरमुकाम विदुर नगरपालिकाको आन्तरिक राजश्व ३८.९३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको तुलना चालू आर्थिक वर्षको कात्तिक महिनासम्ममा झन्डै ३९ प्रतिशतले आन्तरिक राजश्व बढेको हो ।नगरपालिकाका अनुसार चालू आर्थिक वर्ष २०८०/८१ को कात्तिक महिनासम्मको अवधिमा १ करोड ५४ लाख ६० हजार ५२९ रुपैयाँ राजश्व सङ्कलन भएको छ । गत आर्थिक वर्षको यही अवधिमा जम्मा १ करोड ११ लाख २८ हजार ६२८ रुपैयाँ राजश्व उठेको थियो ।चालू आर्थिक वर्षमा उठेको राजश्व गत आर्थिक वर्षको यही अवधिको तुलनामा ४३ लाख ३१ हजार ९०१ रुपैयाँ बढी हो । नगरपालिकाले विभिन्न १८ शीर्षकमा राजश्व उठाउँदै आइरहेको छ । जसमध्ये विज्ञापन कर ५११ प्रतिशतले बढेको छ भने जग्गा पास कर १२१ प्रतिशतले बढेको छ ।यस्तै, १८ शीर्षकमध्ये साना सवारी साधन कर शत प्रतिशतले घटेको छ भने शिक्षा क्षेत्रको शुल्क तथा दस्तुर ५४ प्रतिशतले घटेको छ । यसबाहेक, ४ शीर्षकको कर सङ्कलन भने शून्य छ ।