रावत गाउँ, जाजरकोट — भूकम्पपछि टाँगिएको पालमाथि बिहानीको झुल्के घाम ठोक्कियो । एक साताकी सुत्केरी पवित्रा विक शीतले ओस्सिएका चार वटा लुगाथाङ्ना बोकेर बाहिर निस्किइन् । पालमाथि लहरै मिलाएर सुकाइन् । पहिलो पटक सुत्केरी भएकी १८ वर्षीया पवित्राले छोरी जन्मिएपछि तीन दिनमात्रै घरको बास पाइन् । शुक्रबार मध्यरातको भूकम्पले घरै चर्किएपछि उनीहरू बारीमा पाल टाँगेर बस्न बाध्य छन् । ढुंगामाटोले बनाएको दुईतले घर चिराचिरा परेको छ । दूधे बच्चासँगै सुत्केरीहरू समेत चिसो भुइँमै ‘हामी भाग्यले बचेका हौं । भुइँमै सुतेका भएर पनि भाग्न भ्याइहाल्यौं र बच्यौं,’ पवित्राले सुनाइन्, ‘त्यस दिन त बाहिर खुला आकाशमुनि नै बस्यौं । शनिबार पाल लगायौं, राति शीत परेर चुहिन्छ र भिजिन्छ । यसै हुने हो भने शीतले भिजेर मर्ने भयौं ।’ चिसोले गर्दा उनकी छोरीको नाइटो पाकेको छ । आँखा पाकेका छन् । उनले आफूलाई पिसाब गर्दा दुख्ने, रगत बग्ने र ढाड खाने ९दुख्ने० समस्या बल्झेको बताइन् । परिवारमा उनकी दूधे छोरी, श्रीमान्, नन्द, देवर, सासूआमा र ससुरा गरेर आठ जना छन् । सुरक्षित बस्ने र खाने व्यवस्थाका लागि राहत नपुग्दा उनीहरू टनेलको पालमुनि भुइँमा पराल र केही ओढ्ने–ओछ्याउनेकै भरमा चिसो रात कटाउन बाध्य छन् । दिउँसो घाम लागुन्जेल न्यानो भए पनि राति शीतको चिसोले ठिहिर्याउँछ । नजिकै भेरी नदीको सिरेटोले उसैगरी हान्छ । ‘नन्द र देवरहरू पनि सानै छन् । चिसोले कठाङ्ग्रिएर रातभर जागै हुन्छन्,’ उनले भनिन्, ‘के गर्नु सबैतिर उस्तै दुःख छ । पानी र रुखोसुखो खाएर सास बचेको छ ।’ चर्केको घरबाट दालचामल निकाल्न पनि नसकेको उनको भनाइ छ । छरछिमेकबाट ऐंचोपैंचो गरेर ल्याएको अन्नपात शुक्रबार साँझ खाना खाएर बाहिरै छोडेका भाडामा पकाएर खाने गर्छन् उनीहरू । छोरी जन्मेको छैटौं दिन आइतबार पालमै छोरीको न्वारान गरिदिएको पवित्राले बताइन् । उनीहरू मात्र होइन, नजिकै अन्य चार परिवार बसेको पालमा पनि दुई र तीन महिनाका चार दूधे बच्चाले यसैगरी चिसो रात कटाइरहेका छन् । भूकम्प गएको तेस्रो दिनसम्म प्रभावितहरूसम्म राहत नपुगेपछि सुत्केरी, गर्भवती, केटाकेटीसहित महिला, ज्येष्ठ नागरिक, अपांगता भएका, अशक्त तथा असहायहरूलाई रात कटाउन मुस्किल छ । उनीहरू पुराना पाल, त्रिपाल, तरकारीका टनेलको सहयोगमा छाप्रारटहरा बनाएर बसेका छन् । ‘यस्तो बेलामा सुत्केरी, गर्भवतीलाई पोषण र मायाममता पनि उत्तिकै खाँचो पर्छ, हामीले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत छिटोभन्दा छिटो राहत पुर्याउन समन्वय गरिरहेका छौं,’ जाजरकोट स्वास्थ्य सेवा कार्यालय प्रमुख डा। प्रतीक्षा भारती भन्छिन् । भूकम्पले घाइते भएका दुई गर्भवती जिल्ला अस्पतालमा चेकजाँच गर्न पुगेका थिए । उनीहरूको अवस्था सामान्य देखिएपछि घर पठाइएको छ । तर जाजरकोटको भौगोलिक विकटता, भूकम्पको त्रासले गर्दा चेकजाँचमा आउन नसक्नेहरू गाउँमा थुप्रै हुन सक्ने आकलन स्वास्थ्य कार्यालय प्रमुख भारतीको छ । भूकम्पले कति सुत्केरी र गर्भवती प्रभावित भए भन्ने यकिन तथ्यांक नभएको उनले बताइन् । भेरी नगरपालिकाका अनुसार गत वर्ष नगर क्षेत्रमा मात्रै ९ सय ८३ जना सुत्केरी भएका थिए । नागरिक अगुवा तथा महिला बालबालिकाको क्षेत्रमा जानकार राजेन्द्रविक्रम शाहले भूकम्प प्रभावितलाई समयमा राहत नपुर्याइएको, पुर्याइएकोमा पनि सामाजिक समावेशीका आधारमा वितरण नगरिएको दाबी गर्छन् । ‘भूकम्पले अन्नपात, लत्ताकपडा केही जोगिएका छैनन्, अधिकांशले घर चर्केका कारण बाहिर निकाल्न सकेका छैनन्, सुत्केरी तथा गर्भवतीलाई पोषण र हेरचाह चाहिने बेलामा राहतमा विशेष प्राथमिकता दिनुपर्ने हो, त्यस्तो भएको छैन,’ उनले भने, ‘सरकारी निकाय न सबै प्रभवित क्षेत्रमा सूचना संकलन गर्न पुगेको छ, न त राहत नै पुगेको छ ।’ यस्तो अवस्थामा भविष्यमा कुपोषणको अर्को जोखिम निम्त्याउन सक्ने उनी बताउँछन् । अपांगता भएकाहरू पनि त्यत्तिकै जोखिममा छन् । निदाउनै लाग्दा भूकम्पले घर भत्किएपछि जाजरकोट सदरमुकाम खलंगाका लोकेन्द्र कार्की र उनकी आमा पुरिए । छरछिमेकीले तत्काल उद्धार गरेकाले ज्यान जोगियो । खुट्टा र शरीरका केही भागमा सामान्य चोटपटक लागेको थियो । उनीहरूले त्यस रात छरछिमेकीसँगै बाहिरै बिताए । भोलिपल्ट उठेपछि लोकेन्द्रलाई बिरामले च्याप्दै गयो । शरीर सुन्निने बढ्दै गयो । शनिबार दिउँसो ३ बजेतिर आफन्तसँग मागेको बैसाखी टेक्दै अस्पताल भर्ना भए । ३० वर्षीय लोकेन्द्र हेमोफेलिया ९अपांगता० का बिरामी हुन् । उनमा हेमोफेलिया भएको ६ वर्षअघि थाहा भएको थियो । यो एक प्रकारको अनुवांशिक रोग हो । रगत जमाउन आवश्यक पर्ने तत्त्वहरूको कमीका कारण शरीरको जुनसुकै भागबाट रक्तस्राव हुन सक्छ । उनलाई उपचार गर्न रगत जमाउन चाहिने फ्याक्टरको आवश्यकता पर्छ । जिल्ला अस्पतालमा यसको उपचार सम्भव नहुने भएकाले अन्यत्रै जान चिकित्सकले भनेका छन् । ‘५२ वर्षकी आमाले संघसंस्थाका अफिसतिर काम गरेर कमाएकाले खान्थ्यौं, बस्थ्यौं । लगाएका लुगाबाहेक सबै चीज घर भत्किँदा पुरिए,’ जिल्ला अस्पतालको बेडमा आराम गरिरहेको अवस्थामा भेटिएका लोकेन्द्रले दुःख पोखे । कुरुवा गएकी आमासमेत अस्पतालको चिसो र घर भत्केको सुर्ताले बिसन्चो छिन् । अस्पतालमा भएका उनीहरूलाई खानेबस्ने राहतबारे सोधखोज गर्न कोही आएका छैनन् । जाजरकोट स्वास्थ्य सेवा कार्यालय प्रमुख भारतीले बिरामीलाई चाहिने पर्याप्त डोजको फ्याक्टर नपाइएकाले आफूहरूको निगरानीमा अस्पतालमै राखेको बताइन् । ‘उहाँलाई फ्याक्टर लगाउनुपर्ने हुन्छ । सुर्खेतमा अस्पतालमा बुझ्यौ त्यहाँ एक डोज मात्रै पाइयो । नेपालगन्जमा चिनेजानेको कोही छैन भनेर जान चाहनुभएन,’ भारतीले भनिन्, ‘बरु काठमाडौं पठाइदिनुस्, उता कुरुवाका लागि आफन्तहरू पनि हुनुहुन्छ भन्नुभएको छ । हामीले उता पठाउने कि भनेर कोसिस गर्दै छौं ।’ भूकम्पले घर हल्लियो । सक्नेहरू कराउँदै, चिच्याउँदै घर बाहिर निस्के । दुवै खुट्टा टेक्न नसक्ने उनी भुइँमै एक ठाउँ थुप्रिइन् । ‘बुबाले देखिहाल्नुभयो, हत्त न पत्त बोकेर बाहिर ल्याउनुभयो र बाँचे,’ पालको एक कुनामा बसेकी रावत गाउँकी अमिता विकले सुनाइन् । १४ वर्षीया अमिता तीन वर्षयता अचानक दुवै खुट्टा टेक्न नसक्ने बिरामी छिन् । हिँडडुल गर्नॅपर्ने सहयोगी चाहिन्छ । ६ कक्षा पढ्दापढ्दै खुट्टा टेक्न नसक्ने बिरामी भएकी उनले स्कुल छाडिन् । उपचार गर्नका लागि स्वास्थ्य संस्था पनि पुगेकै हुन् । तर, उपचार सम्भव भएन । दैनिक क्रियाकलापमा सहजताका लागि अपांगता, अशक्त तथा असहाय व्यक्तिले प्रयोग गर्ने बैसाखी वा ह्विलचियरसमेत उनलाई दिइएको छैन । भूकम्पले अमिताको घर चर्किएर बस्नै नमिल्ने गरी भत्किएको छ । पूरै परिवारले शुक्रबारको रात चिसो भुइँमै कटाए । शनिबार छरछिमेकी भेला भएर बारीमै खाँबो गाँडे । केही थान टनेल जुटाएर अस्थायी टहरो बनाए । हिँड्न सक्नेहरू यताउता गरिहन्छन् । अमिता जतिखेरै काखमा बच्चा च्यापेर पालको एक कुनामा बसिरहेकी हुन्छिन् । ‘उठ्न सक्दिन, यस्तो बेला उसले केही गर्न सक्ने होइन । छोरी बोकेर बस्छे,’ उनकी आमाले भनिन् । उनकी बहिनी दुई महिनाकी भइन् । उनका १३ र ७ वर्षका दुई भाइबहिनी पनि छन् ।
कान्तिपुर वाट साभार