१८ कात्तिक, काठमाडौं । भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका प्रधानमन्त्री प्रचण्ड घाइतेलाई ढाडस दिएर रुकुम पश्चिम फर्किएका छन् । जाजरकोटको खलंगास्थित जिल्ला अस्पतालमा पुगेर प्रधानमन्त्री प्रचण्डले घाइतेहरूलाई भेटी ढाडस दिएका हुन् । नेपाली सेनाका १६ जनाको मेडिकल टिमसहित पुगेका उनले डाक्टर र औषधी लिएर आएको बताउँदै घाइते र आफन्तलाई चिन्ता नलिने भनेका थिए । ‘डाक्टर र औपधि ल्याएर आएका छौं । उपचारमा समस्या हुँदैन छिट्टै निको हुन्छ । चिन्ता नलिनुहोला,’ उनले भने । प्रधानमन्त्रीसहित पूर्वगृहमन्त्रीद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत र प्रदेश सांसद राजीवविक्रम शाह पनि अस्पताल पुगेका थिए । जाजरकोटका पीडितलाई भेटेपछि प्रधानमन्त्री प्रचण्ड रुकुम पश्चिम फर्किएका छन् । रुकुमको आठविसलगायतका क्षेत्रमा पनि ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।
अनलाईन खवरवाट साभार