फुकोट–कर्णाली आयोजना इआइए स्वीकृतिको ढिलाइले समस्या

सुर्खेत : कालीकोटमा निर्माण हुने फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजना वातावरणीय प्रभाव मूल्यांकनमा अल्झिएको छ।विद्युत विकास विभागबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय हुँदै वन तथा वातावरण मन्त्रालयमा पुगेको प्रतिवेदन सो मन्त्रालयले स्वीकृत भएको छैन।इआइए स्वीकृत नहुँदा अध्ययनका सबै काम सकेर पनि आयोजनाले ‘जेनेरेसन लाइसेन्स’ पाउन सकेको छैन। विद्युत उत्पादन कम्पनीले इआइए प्रतिवेदन स्वीकृतिका लागि करिब नौ महिनाअघि ऊर्जा मन्त्रालय पठाएको थियो।ऊर्जाले वन तथा वातावरण मन्त्रालयमा स्वीकृतिका लागि पठाएको दुई महिना पुगिसकेको छ। वन मन्त्रालयले स्वीकृति दिएपछि प्रतिवेदनले अन्तिम रूप पाउनेछ।आयोजनाको विस्तृत डिजाइन र अध्ययन पूरा गरिसकेको आयोजना प्रमुख हिरामान वाइबाले जानकारी दिए।‘हामीले सम्भाव्यता, डिटेल डिजाइन, बिडिङ डकुमेन्ट लगायतका काम सकिसकेका छौँ’ उनले भने, ‘इआइए रिपोर्ट स्वीकृति हुने अन्तिम चरणमा छ।’२०७५ सालमा आयोजनाको सर्वेक्षणका लागि विद्युत विकास विभागले अनुमति दिएको थियो। कालीकोटमा निर्माण हुने चारसय ८० मेगावाटको फुकोट कर्णाली जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन डिपिआर चार वर्ष लगाएर तयार भइसकेको छ।सन् २०२२ मै डीपीआरको काम सकिएको थियो। डीपीआर र इआइएको काम सम्पन्न भएको आयोजना प्रमुख वाइबाले बताए। तर, इआइए प्रतिवेदन मन्त्रालयमा अड्किएको छ।प्रस्तावित आयोजनाको बाँधको दायाँतर्फको भाग सान्नी त्रिवेणी गाउँपालिका वडा ३ मा पर्छ। बायाँतर्फको भाग खाँडाचक्र नगरपालिका वडा ११ मा रहनेछ। मुख्य बाँधको उचाइ जगदेखि एकसय ६० मिटर तथा नदीको पिँधको स्तरबाट एकसय नौ मिटर हुनेछ। बाँधको माथिल्लो भाग क्रेस्टको लम्बाइ तीनसय १३ मिटर र चौडाइ दश मिटर हुनेछ।प्रस्तावित आयोजनाका केही पूर्वाधारका काम भने भइरहेका छन्। कार्यालयको भवन निर्माण, गेष्टहाउस निर्माण, वाल निर्माण र पहुँच मार्ग विस्तार लगायतका काम धमाधम भइरहेका छन्। पावर हावस भने यसअघि नै निर्माण गरिसकिएको छ।इआइए स्वीकृत हुनेवित्तिकै ‘जेनेरेसन लाइसेन्स’ का लागि विद्युत विकास विभागमा अनुमतिका लागि निवेदन पेस गर्नेगरी काम भइरहेको छ।९२ प्रतिशत जग्गा अधिग्रहणको काम सकिएको छ। दोभान क्षेत्र बाहेकको जग्गा अधिग्रहण गर्ने प्रक्रियामा रहेको छ। हालसम्म करिब नौ सय रोपनी जग्गा अधिग्रहण भइसकेको वाइबाले बताए। जग्गा अधिग्रहणमा ४५ करोड रुपियाँ खर्च भइसकेको छ। आयोजनाका लागि एक हजार ७५ रोपनी जग्गा अधिग्रहण हुनेछ।कालीकोटको सानीत्रिवेणी गाउँपालिका–३ सिस्नेगाडामा पाँचसय २० मिटरको परीक्षण सुरुङ खनेर एकसय ६० मिटर अग्लो बाँध निर्माणगरी १३।५ किलोमिटर सुरुङबाट सानीको भौतेगाडामा निर्माण हुने विद्युत् आयोजनामा जोड्ने योजना छ।निर्माण सुरु भएको पाँच वर्षभित्र पूरा गरिनेछ। विद्युतको अधिकतम माग हुने समयमा सञ्चालन गर्ने उद्देश्यका साथ यो आयोजना निर्माण गर्न लागिएको हो।आयोजना निर्माणको जिम्मा भने भारतीय सरकारी कम्पनीले पाएको छ। नेपालको सरकारी कम्पनी विद्युत उत्पादन कम्पनीले बनाउन लागेको यो आयोजनामा अब भारत सरकारको स्वामित्वमा रहेको एनएचपीसी इण्डिया लिमिटेडको पनि लगानी हुनेछ।विद्युत उत्पादन कम्पनी र एनएचपीसी इन्डिया लिमिटेड कम्पनी मिलेर छुट्टै कम्पनी खडागरी सोहीमार्फत आयोजना निर्माणको काम अघि बढाउने तयारी छ।एमओयूको मस्यौदाअनुसार एनएचपीसीको ५१ र भीयूसीएलको ४९ प्रतिशत लगानीमा फुकोट कर्णाली आयोजना बनाउने तयारी छ। आयोजनाको ब्याजदरसहित ९२ अर्ब रुपियाँ लागत लाग्ने अनुमान गरिएको छ।

थाहा खबर बाट साभार गरिएको

error: Content is protected !!