द्वन्द्वग्रस्त इजरायलबाट आज २ सय ५४ विद्यार्थीको उद्धार गरिँदै

प्यालेस्टाइनी हमास समूहको हमलापछि युद्धग्रस्त इजरायलबाट नेपालले आफ्ना नागरिक फिर्ताको अभियान थालेको छ । पहिलो चरणमा बिहीबार दुई सय ५४ विद्यार्थीलाई उद्धार गरेर स्वदेश फर्काउन लागेको हो । इजरायलबाट तीन सय ५० नेपाली नागरिकले स्वदेश फर्किने चाहना राख्दै विवरण टिपाएकामा पहिलो चरणमा दुई सय ५४ विद्यार्थी ल्याउन लागिएको हो । बिहीबार साँझ उनीहरूलाई स्वदेश ल्याइपुर्‍याउने सेड्युल छ । दुई सय ७४ सिट क्षमताको नेपाल एयरलाइन्सको एयरबस ३३० वाइडबडी जहाज बुधबार राति इजरायलका लागि प्रस्थान भएको छ । वरिष्ठ क्याप्टेन श्रवण रिजालको नेतृत्वमा उद्धार हुन लागेको हो । परराष्ट्रमन्त्री एनपी साउदसमेत उद्धारमा प्रत्यक्ष सहभागी भएका छन् । बुधबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आफू पनि नागरिकको उद्धारमा प्रत्यक्ष सहभागी हुन लागेको परराष्ट्रमन्त्री साउदले बताए । ‘हामी इजरायलमा गएका हाम्रा युवा विद्यार्थीलाई आत्मविश्वास जगाउन, उहाँहरूको पीडामा ऐक्यबद्धता जनाएर देश फर्काउन चाहन्छौँ । यही उद्देश्यसाथ इजरायल जाँदै छु,’ इजरायल प्रस्थान गर्नुअघि परराष्ट्रमन्त्री साउदले नयाँ पत्रिकासँग भने, ‘यो दुस्खको समयमा हामी राष्ट्रिय एकता अभिव्यक्त गर्न चाहन्छौँ । यो सबैबाट होस् भन्ने सरकारको अभिप्राय छ ।’ परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरण पनि उद्धारका लागि इजरायल जाने टोलीमा छन् ।इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले नेपाल एयरलाइन्सको चार्टर विमानबाट पहिलो चरणमा दुई सय ५४ विद्यार्थीलाई स्वदेश फर्काउन लागिएको जानकारी दिइन् । ‘हामी पहिलो चरणमा विद्यार्थी भाइबहिनीलाई उद्धार गर्छौँ । बाँकी रहेकालाई भविष्यमा व्यापारिक उडानबाट सुरक्षित रूपमा स्वदेश फर्काउँछौँ,’ रिजालले इजरायलको राजधानी तेलअभिभबाट टेलिफोनमा भनिन् । हामी पहिलो चरणमा विद्यार्थी भाइबहिनीहरूलाई उद्धार गर्छौँ । बाँकी रहेकाहरूलाई भविष्यमा व्यापारिक उडानबाट सुरक्षित रूपमा स्वदेश फर्काउँछौँ । नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलका अनुसार बिहीबार बिहान स्थानीय समयअनुसार ९स्१० बजे जहाज तेलअभिभ पुग्नेछ । त्यहाँबाट ११स्१० बजे उडेर दुबई हुँदै साँझ ८स्२० बजे काठमाडौंमा जहाज अवतरण गर्ने तालिका छ । काठमाडौंबाट दुबईसम्म व्यापारिक उडानबाट जहाज जानेछ । नेपाली दूतावासका अनुसार बिहीबार बिहानसम्म स्वदेश फर्किने चाहना राखेका सबै विद्यार्थी इजरायलको राजधानी तेलअभिभ पुग्नेछन् । बुधबार साँझसम्म ५५ जना नेपाली विद्यार्थी सुरक्षित स्थानमा स्थानान्तरण भएका छन् । उनीहरूमध्ये सुदूरपश्चिम विश्वविद्यालयका ३२ जना र कृषि तथा वनविज्ञान विश्वविद्यालयका २३ छन् । उपचाररत अवस्थामा रहेका सुदूरपश्चिम विश्वविद्यालयका चारजना विद्यार्थीमध्ये दुईजना डिस्चार्ज भएका छन् । उनीहरूसँगै रहेका, तर हाल बेपत्ता भएका विपिन जोशीको खोजी कार्य जारी रहेको पनि परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।पोस्टमार्टम लगायका प्रक्रिया पूरा नभएकाले १० विद्यार्थीको शव भने आज नल्याइने नागरिक फिर्ताका लागि पहल गरेको सरकारले पोस्टमार्टमलगायत कानुनी प्रक्रिया पूरा नभएको भन्दै मृतक १० विद्यार्थीको शव तत्काल नल्याउने भएको छ । कानुनी प्रक्रिया पूरा गरेर शव पनि छिट्टै ल्याउने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । ‘इजरायल सरकारले शव हस्तान्तरण गरेपछि नेपाल ल्याउने प्रक्रिया सुरु गर्छौँ,’ लम्सालले भनिन् । परराष्ट्रमन्त्री साउदलाई इजरायल सरकारले शव नेपाल ल्याउन सहयोग गर्ने आश्वासन दिइसकेको छ । इजरायलमा लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत कृषि विज्ञानमा अध्ययनरत विद्यार्थी ११ महिने इन्टर्नका लागि गएका हुन् । इजरायलबाट आफूखुसी स्वदेश फर्किन चाहनेका लागि पनि नेपाल सरकारले खर्च व्यहोर्ने भएको छ । मन्त्रिपरिषद् बैठकले नै यस्तो निर्णय गरेको हो । भविष्यमा उद्धारको आवश्यकता भए चार्टर गरेर विमान पठाउने, विदेशी विमान चार्टर गरेर नेपालीलाई उद्धार गर्ने वा व्यापारिक उडानबाट नेपालीलाई ल्याउनेसहितको विकल्पमा अघि बढ्ने सरकारको निर्णय छ ।

error: Content is protected !!