राउटे समुदायका ज्येष्ठ सदस्यको निधन


हिक्मतबहादुर नेपाली

दैलेख । लोपोन्मुख जाती राउटे समुदायको सबैभन्दा ज्येष्ठ सदस्य कर्णबहादुर शाहीको निधन भएको छ । जिल्लाको भैरबी गाउँपालिका–१ दारेघाटमा बसोबास रहेको राउटे समुदायका ज्येष्ठ नागरिक शाहीको मंगलवार साँझ निधन भएको हो । राउटे जाती गुराँस गाउँपालिका–८ का बासिन्दा हुन् । उनिहरु फिरन्ते जीवनयापन गर्दै आएका छन् । गुराँस गाउँपालिकाले उपलब्ध गराएको परिचयपत्रका आधारमा उनको जन्म १९८९ बैशाख १२ भएको हो ।

मृतक शाहीको बुधवार विहान समुदायको परम्परा अनुसार अन्तेष्टी गरिएको छ । सोसेक नेपालले सञ्चालन गरेको राउटे परियोजनाका जोडी शिक्षक लालबहादुर खत्रीका अनुसार राउटे समुदायको संस्कार अनुसार शवलाई खाल्डो खनेर खाडिएको छ । समुदायका सदस्यको निधन भएपछि बाँदर मार्न प्रयोग गर्ने जालमा राखेर खाल्डोमा गाड्ने संस्कार राउटेको छ । शवलाई गाड्दा बस्तीका हरेक घरबाट धान, चामल, नयाँ कपडाको टुक्रा लगाएतका सामग्री चढाउने चलन छ ।

समुदायमा किरियाकाज गर्ने संस्कार छैन् । निधन भएको ११ देखि १३ दिनको बीचमा पिपलपानी हाल्छन् । पिपलपानी हाल्नुको अघिल्लो दिन साँझ मृतकको नाममा कुखुरा काट्ने, मधुस बनाएर त्यसभित्र भात, मासु राख्ने गर्दछन् । भोलीपल्ट सोहि मधुस पिपलपानी हाल्ने ठाउँमा राख्ने चलन राउटे समुदायमा रहेको जोडी शिक्षक खत्रीले बताए ।

पिपलपानी हाल्ने दिन सबै घरपरिवारले घर लिपपोत गर्ने, कपडा धुने, नुहाउने चलन छ । राउटे समुदायका कोही सदस्यको निधनपछि बसिरहेको बस्ती एक हप्ता भित्र छोड्ने र नयाँ ठाउँमा सबैले कपडा धोएर मृतकको नाममा कुखुरा काटेर मासु खाई शुद्ध हुने चलन छ । यसरी बस्ती सरेको नयाँ ठाउँमा शुद्ध भईसकेपछि पुनः अर्कोस्थानमा बस्ती सर्छन् उनिहरु ।

नेपाललाई विश्वमा चिनाएको यो समुदायले नागरिकता लिएका छैनन् । आफूलाई ‘वनको राजा’ भन्न रुचाउने राउटे नेपालको नागरिक हौं भनेर गाथा गाउँछन् । राउटे समुदाय दैलेख, सुर्खेत, जाजरकोट, सल्यान आसपासका जंगलमा बस्छन् । पछिल्लो समय यो समुदायको अस्तित्व नै संकटमा पुगेको छ । अत्यधिक मदिराको सेवन गर्नु, पोषणयुक्त खानाको कमी हुनु, नवजात शिशुको हेरचाहमा कमीजस्ता कारणले उनीहरूको अस्तित्व मेटिने खतरा बढेको हो । राउटेको जनसंख्या बर्सेनि घट्दो क्रममा छ । मदिराको उच्च सेवनबाट युवादेखि वृद्धवृद्धासम्मले अकालमा ज्यान गुमाइरहेका छन् भने, हेरचाह र खानपान नमिल्दा बालबालिकाले ज्यान गुमाएका छन् । हाल उनिहरुको जनसंख्या एक सय ४१ जना छ ।

error: Content is protected !!