हिक्मतबहादुर नेपाली
दैलेख । दैलेखको पञ्चकोशी क्षेत्रमा भईरहेको पेट्रोलियम पदार्थ अन्वेषण अन्तरगर्त ड्रिलिङ्ग कार्यका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ । नेपाल र चीन सरकारबीच भएको सम्झौता अनुसार सुरु भएको पेट्रोलियम अन्वेषण अन्तरगर्त ड्रिलिङ्ग कार्यका लागि भैरबी गाउँपालिका–१ रावतकोटको जलजलेस्थित (साविकको रावतकोट गाविस–६) जग्गा अधिग्रहण सुरु भएको हो । गत माघ २३ गते बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम अन्वेषणका लागि जलजलेमा रहेको ४५ रोपनी जग्गा अधिग्रहण गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार स्थानीय बासिन्दाको नाममा रहेको जग्गा अधिग्रहण गर्ने प्रक्रिया थालिएको प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताए । जिल्ला प्रशासनले जग्गा प्राप्ती सम्बन्धी सुचना जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी हमालका अनुसार स्थानीय २४ जना जग्गाधनीको करिब ४५ रोपनी जग्गा अधिग्रहण गरिनेछ । ड्रिलिङ कार्यका लागि बाइस हजार ६ सय ४५ वर्गमिटर क्षेत्रफल जग्गा आवश्यक पर्ने बतार्ईएको छ ।
जग्गाधनिले मुआब्जा दाबी गर्न आ–आफ्नो भोगचलन गरिरहेको निस्साको प्रमाणसहित १५ दिनभित्र निवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । अधिग्रहणमा पर्ने जग्गामा लगाईएको बाली, रुख काट्न, घर पर्खाल भत्काई लैजानका लागि ३५ दिनको समयसिमा तोकिएको छ । जग्गा धनिले आफ्नो जग्गा अधिग्रहण नगर्नुपर्ने कारण भए कारण सहित सात दिनभित्र जिल्ला प्रशासनमार्फत गृहमन्त्रालयमा उजुरी गर्न सक्ने प्रमुख जिल्ला अधिकारी हमालको भनाई छ ।
नेपालकै प्रसिद्ध पञ्चकोशी तिर्थस्थलमध्ये श्रीस्थान, नाविस्थान र पादुकामा सदिऔँदेखि ज्वाला बलिरहेको छ । २०७२ मा नेपालको संविधान जारी भएपछि छिमेकी मुलुक भारतले लगाएको अघोषित नाकाबन्दीपछि दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अघि बढेको थियो । नेपालले २०७५ माघमा दैलेखको पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण गर्न चीनलाई दिने सम्बन्धी परियोजना स्वीकृत गरेको थियो । उक्त सहमतिअनुसार २०७६ मा खानी तथा भूगर्भ विभाग र चिनियाँ सरकारको जिओलोजिकल सर्वे कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्नका लागि दुई अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा सम्झौता भयो ।
२०७६ असार १६ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव नेतृत्वको टोलीले दैलेखको नाभीस्थान आएर अन्नवेषणको औपचारिक उद्घाटन गरेको थियो । त्यसपछि खानी तथा भूगर्भ विभाग र चाइना जियोलोजिकल सर्भेको विज्ञ टोलीले अन्वेषणको काम थालेको थियो । दुई देशको प्राविधिक टोलीले साइस्मिक, जियोलोजिकल, म्याग्नेटो टेल्युरिक, जिओकेमिकल स्याम्पलिङ सर्भे लगाएतका काम सम्पन भईसकेको छ ।
स्थलत सर्भेको काम सकेर कोरोना माहामारी सुरु हुनासाथ २०७६ फागुनमा चिनियाँ टोली चिन फर्किएको थियो । २०२२ सम्म अन्वेषणको काम सक्ने गरि सम्झौता गरिएको भएपनि कोरोना महामारीको कारण हुन सकेन् । २०७८ चैत्र १४ को मन्त्रिपरिषद् बैठकले परियोजनाको म्याद दुई वर्ष थप गर्ने निर्णय गरेको थियो । खानी तथा भूगर्भ विभागका अनुसार अब पहिला गरिएको सर्भेका आधारमा ड्रिलिङ्गको काम हुनेछ । पहिचान भएको क्षेत्रमा ४ किमि गहिराईसम्म ड्रिलिङ गरिने विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले जानकारी दिए ।
पेट्रोलियम पदार्थ अन्वेषणको थप काम अघि बढाउन चिनियाँ टोली तयारी अवस्थामा छ । पेट्रोलियम पदार्थ अन्वेषण सक्ने गरी तयारीका कामहरु छिटो सक्न चिनियाँ टोलीले ताकेता गरिरहेको छ । तर दैलेखसम्म ड्रिलिङ उपकरण ल्याउन सक्ने गरी सडक पूर्वाधार स्तरोन्नति नहुँदा चिनियाँ टोली आउन सकेका छैनन् । सूचना अधिकारी बाँस्कोटाका अनुसार ड्रिलिङका लागि ६० टनसम्मको उपकरणहरु दैलेख ल्याउनुपर्नेछ । ‘दैलेख सुर्खेत सडक अन्तरगर्त १५ भन्दा बढि ठाउँमा सडक फराकिलो बनाउनुपर्नेछ, सोहि अनुसार सडक पूर्वाधार स्तरोन्नतिका लागि हामीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई प्रतिवेदन बुझाई सकेका छौँ,’ उनले भने ।