दैलेख : जिल्लाको दुल्लु नगरपालिका–७ बाहुनगाउँस्थित आधारभुत स्वास्थ्य केन्द्रमा आगजनी भएको छ । शनिवार राती स्वास्थ्य केन्द्रमा आगजनी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । ईलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक कृष्ण डांगीका अनुसार स्वास्थ्य केन्द्रको एउटा कोठामा आगजनी भएको बताए । उक्त कोठामा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको प्रहरी निरिक्षक डांगीले जानकारी दिए । ‘स्वास्थ्य केन्द्रमा विद्युत जडान गरिएको छैन्, कोही व्यक्तिले नियतवस आगजनी गरेको हुनुपर्छ, कसले र के कारणले स्वास्थ्य केन्द्रमा आगजनी ग¥यो भन्नेबारे हामीले थप अनुसन्धान थालेका छौँ,’ प्रहरी निरीक्षक डांगीले भने ।
स्वास्थ्य केन्द्रका प्रमुख लक्ष्मी दहित आचार्यले औषधी, बर्थिङ्ग वेडसहित औषधी उपकरणहरू, सर्जिकल सामान राखिएको मिनी स्टोरका सबै सामग्री जलेर खरानी भएको बताइन् । उक्त कोठामा महंगो औषधी र उपकरणहरु राखिएको थियो । ‘स्वास्थ्य केन्द्रमा पहिला पनि निरन्तर तोडफोड भईरहन्थ्यो, हामीले संरक्षण गर्ने प्रयास गरिरहेका थियौँ, यो पटक त आगजनी नै भयो, कसले र किन आगजनी ग¥यो भन्ने आकलन गर्न सकिरहेका छैनौँ,’ उनले भनिन् ।
आगजनीका कारण करिब १५ लाख रुपैयाँ बराबरको क्षती भएको आचार्यको भनाई छ । ‘स्वास्थ्य केन्द्रको ढोकामा लगाईएको ताला फोडिएको छ, मुख्य स्टोरबाट निकालेर प्रयोग गर्नका लागि औषधी उपकरणहरु राख्ने गरेको कोठामा (मिनी स्टोर) आगजनी भएको छ, ढोका र झ्याल पनि जलेको छ,’ उनले भनिन् ।