टोपबहादुर रायमाझी पक्राउ

काठमाडौं : नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका टोपबहादुर रायमाझी अन्ततः पक्राउ परेका छन्। उनलाई आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।  प्रहरी अधिकारीका अनुसार एमाले सचिव तथा पूर्वऊर्जामन्त्रीसमेत रहेका सांसद रायमाझीलाई आइतबार साँझ पासीकोटस्थित एक व्यक्तिको घरमा बसिरहेको अवस्थामा पक्राउ गरिएको हो। ‘रायमाझी शनिबार नै काठमाडौं आएको सूचना पाएका थियौं,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘आइतबार साँझ पक्राउ गरेका हौं।’ उनी पक्राउ पुर्जी जारी भएको ११औं दिनमा प्रहरीको नियन्त्रणमा परेका हुन्।

रायमाझीविरुद्ध ठगी गर्ने गिरोहलाई सहज हुने गरी नीतिगत निर्णय गराउन भूमिका खेलेको आरोप छ। जिल्ला अदालत काठमाडौंले रायमाझी पक्राउ गर्न गत वैशाख २० मा पक्राउ पुर्जी जारी गरेको थियो। सो दिन अर्घाखाँचीमा रहेका उनी पक्राउ पुर्जी जारी भएपछि त्यहीबाट फरार भएका थिए। प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने सोही दिन पक्राउ गरेको थियो। यही प्रकरणमा अनुसन्धानका लागि सन्दीप पनि पक्राउ परेका हुन्। यसअघि प्रहरीको विशेष टोलीले मंगलबार ललितपुरको सातदोबाटोस्थित रायमाझीको घरमा छापा मारेको थियो।

error: Content is protected !!