सुर्खेत : सुर्खेतस्थित बादी सरोकार मञ्च नेपाललाई सहयोग गरिएको छ । मानवअधिकारकर्मी राज विश्वकर्माले मञ्चमा आश्रीत बालबालिकालाई खाद्यान्न सहयोग गरेका हुन् । आइडिया नेपाल सुर्खेतका अध्यक्ष समेत रहेका विश्वकर्माले आफ्नो जन्मदिनको अवसर पारेर खाद्यान्न सहयोग गरेका हुन् । जन्मदिनको अवसर पारेर मञ्चलाई चामल, दाल, तेल लगाएतका खाद्यान्न तथा आलुसहित तरकारी उपलब्ध गराईएको छ । आइडिया नेपालका अध्यक्ष विश्वकर्मा र कार्यकारी निर्देशक तथा बालन शिक्षा मोन्टेश्वरी तथा चाइल्ड केयर सेन्टरका प्रिन्सीपल रचना सुनारसहितको टोलीले मञ्चका अध्यक्ष हिक्मत बादीलाई सामग्री हस्तान्तरण गरेका छन् ।
यसअघि गरिब, विपन्न तथा विपद्मा परेका व्यक्ति तथा परिवारलाई सहयोग गर्दै आएका विश्वकर्माले यस पटकको जन्मदिनमा बादी समुदायका बालबालिकालाई सहयोग गरेका हुन् । मञ्चद्धारा सञ्चालित होस्टेलमा आश्रय लिईरहेका बालबालिकालाई खाद्यान्न अभाव झेलिरहेको जानकारी पाएपछि खाद्यान्न सामग्री सहयोग गरेको विश्वकर्माले बताए । विश्वकर्मा बालन शिक्षा मोन्टेश्वरी तथा चाइल्ड केयर सेन्टरका संस्थापक हुन् ।
मञ्चमा दैलेख, सुर्खेत, जाजरकोट, रुकुम पश्चिम, अछाम, कैलाली र दाङकासहित एक सय १० जना बालबालिका र किशोरकिशोरीलाई आश्रय लिईरहेका छन् । उनिहरु सुर्खेतकै विभिन्न नीजि विद्यालयमा अध्ययन गरिरहेका छन् । अभिभावकीय जिम्मेवारी लिएका मञ्चका अध्यक्ष हिक्मत बादीले मनकारी व्यक्तिहरुको सहयोगबाट बालबालिकालाई पालनपोषण र पठनपाठनमा सहयोग पुगेको बताए ।