दैलेख : खुट्टा पटक्कै चल्दैन। हात चलाउन खोजे लगलग काँप्छ। उनको सहारा बनेको छ ह्विलचियर। ह्विलचियरमै दिन कटाउनुपर्छ। जब साँझ पर्छ, तब अर्कैको सहारामा ओच्छ्यानमा पुग्छन्। खान, बस्न शौचालय जानलाईसमेत अर्कैले सहारा दिनुपर्छ। उनी हुन्, भैरवी गाउँपालिका–४ न्यूरा दमाई टोलका १० वर्षीय बालक रोशन नेपाली। उनी जन्मिएदेखि नै यसैगरी छटपटाइरहेका छन्। रोशनको जन्म हुँदा उनको परिवार मजदुरी गर्न भारतमा थियो। उनका बुबाआमाले छोराको उपचारमा धेरै प्रयास गरे। निको नभएपछि रोशन दुई वर्षको छँदा गाउँ फर्किएका थिए।
रोशनलाई काभ्रेको बनेपास्थित अपांग अस्पतालमा उपचार गरिएको थियो। रोशनका दाई नाता पर्ने गणेश नेपाली भन्छन् ‘बुबाआमाले भारतमा उपचार गराउनुभयो, नेपाल आएर बनेपास्थित अपांग अस्पतालमा पुर्याएर पनि उपचार गर्यौं, तर निको भएको छैन।’ गत माघमा सुर्खेत ल्याएर उपचार सुरु गरेको गणेश बताउँछन्।
‘सुर्खेतमा चेकजाँच गर्दा डाक्टरले बच्चाको टाउकोमा धेरै पानी जमेको छ, जतिसक्दो छिटो शल्यक्रिया गर्नुपर्छ भन्नुभएको छ,’ उनले भने। उपचारमा चरम आर्थिक अभाव भइरहेको उनले बताए। छाक टार्नै हम्मेहम्मे परिरहेको यो परिवारले छोराको उपचारमा झन्डै १० लाख खर्च गरिसकेको छ।
गाउँघरमा मजदुरी गरेर परिवारको खर्च धानिरहेका बालक रोशनका बुबा टेकेस नेपाली भन्छन्, ‘छोराको उपचारमा १० लाख खर्च भइसक्यो, निको नै हुँदैन, छोराको उपचारका लागि लिएको ऋण तिर्न सकेको छैन। शल्यक्रिया गर्न दुई लाख बढी लाग्छ, यति धेरै रकम जुटाउन कुनै उपाय छैन।’
यसअघि छोराको उपचारमा गाउँका साहुहरूसँग तीन प्रतिशत ब्याजमा लिएको उनले बताए। ‘अझै चार लाख रुपैयाँ ऋण तिर्न सकिरहेको छैन, कमाएको धेरथोर पैसा ब्याज तिर्नै ठिक्क हुन्छ,’ उनले भने। उनले छोराको उपचारमा सहयोग गर्न अपिल गरेका छन्।
टिनले छाएको झुपडीमा यो परिवारको बास छ। टेकेस दम्पतीका चार सन्तान छन्। चरम गरिबीमै दैनिकी गुजारिरहेका टेकेसकी पत्नी सीताले छोरालाई बचाइदिन आग्रह गरेकी छन्। छोराको उपचारमा अहिलेसम्म कतैबाट सहयोग नपाएको उनको गुनासो छ। ‘बिरामी छोराको उपचारमै ऋणसापट गरेर लाखौं रकम सकिएको छ, उपचारका लागि लिएको ऋणसमेत तिर्न सकिरहेका छैनौं, थप उपचारका लागि हामीसँग कुनै उपाय छैन,’ उनले भनिन्।