हिक्मतबहादुर नेपाली
दैलेख : दैलेखमा आगलागीममा परेर १२ जना कामदार घाइते भएका छन् । जिल्लाको पश्चिममा पर्ने आठबीस नगरपालिका–६ को माल्ले सामुदायिक वनमा लागेको आगोमा परेर १२ जना घाइते भएका हुन् । घाइते मध्ये चार जनाको अवस्था गम्भिर रहेको स्थानीय बलबहादुर थापाले बताए । घाइतेहरु प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगर्त गोरेटो बाटो निर्माणमा खटिएका कामदार हुन् ।
थापाका अनुसार आगलागीमा परेका १२ जना प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगर्त गोरेटो बाटो निर्माणमा गएका थिए । ‘१२ जना प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगर्त गोरेटो बाटो खन्न खटिएका थिए, तलबाट कसले आगो लगायो थाहा भएन्, बाटो निर्माणको काम गर्दै गर्दा एक्कासी आगोको लप्को आएपछि भागदौड मच्चिएको रहेछ,’ थापाले भने ‘भाग्ने क्रममा नजिकैको ओडोरमा पुग्न सफल हुनेहरु सामान्य घाइते भएका छन् ।’
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार गोरेटो बाटो निर्माणमा खटिएका भैरब विकको अवस्था चिन्ताजनक छ । उनको अधिकाँश शरिर जलेको प्रहरीले जनाएको छ । अन्य तीन जना पनि गम्भिर घाइते छन् । गम्भिर घाइते हुनेहरुमा नैना विक, बसुन्धरा विक र प्रकाश विक रहेको प्रहरीले जानकारी दिएको छ । अन्य ८ जना सामान्य घाइते छन् ।
घाइतेहरुको उद्धार गरि आठबीस नगरपालिका–४ स्थित राकमकर्णाली आधारभुत अस्पतालमा उपचारका लागि प्राथमिक उपचार भईरहेको नगरपालिकाका उपप्रमुख कल्पना थापाले बताइन् । गम्भिर घाइते भएका चार जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेतस्थित प्रदेश अस्पतालमा पठाउने तयारी भईरहेको उनले बताइन् । सामान्य घाइते भएकाहरुलाई समेत थप उपचारका लागि सुर्खेत पठाइने उपप्रमुख थापाको भनाई छ ।