जहाँ आश्रीत छन् ११० बादी बालबालिका
दैलेख : जाजरकोटको भेरीगंगा नगरपालिकाकी १० वर्षिया बन्दना बादी प्रदेश राजधानी वीरेन्द्रनगरमा बस्छिन् । परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण उनले पढाईबाट बञ्चित हुनुपरेको थियो । बन्दनालाई बादी सरोकार मञ्च नेपाल सुर्खेतले आश्रय दिएको छ । उनलाई सूर्योदय बोर्डिङ स्कुलले निशुल्क पढाएको छ । बन्दना जस्तै दैलेखको महाबु गाउँपालिकाकी १७ वर्षिया शिखा बादी पनि मञ्चकै आश्रयमा छिन् । उनको पालनपोषणसहित अभिभावकीय जिम्मेवारी मञ्चले लिएको भने सूर्योदयले निशुल्क पढाएको छ । उनि व्यवस्थापन संकायमा अध्ययनरत छिन् ।
बन्दना र शिखाजस्तै एक सय १० जनालाई मञ्चले आश्रय दिईरहेको छ । यहाँ ६ देखि १९ वर्षसम्मका बादी समुदायका बालिबालिका तथा किशोरकिशोरीहरु छन् । ०७३ मा स्थापना भएको मञ्चमा सुरुमा ३८ बालबालिका थिए । सुकुम्बासी जीवन बिताईरहेका, आर्थिक अवस्था कमजोर रहेका बादी समुदायका बालबालिकालाई शिक्षाको पहुँच पु¥याएर सक्षम बनाउने उदेश्यले मञ्च स्थापना भएको हो ।
दैलेख, सुर्खेत, जाजरकोट, रुकुम पश्चिम, अछाम, कैलाली र दाङका बालबालिका र किशोरकिशोरीलाई आश्रय दिईरहेको मञ्च अभावैअभावमा गुज्रीएको छ । उनिहरुको पालनपोषणका लागि खर्च जुटाउनै सकस भईरहेको मञ्चका अध्यक्ष हिक्मतबहादुर बादीले बताए । मञ्चमा खाद्यान्नको जोहो गर्न हम्मेहम्मे परिरहेको उनको भनाई छ । ‘मैले बादी समुदायको अधिकारको सवालमा काम गर्न थालेको ११ वर्ष भयो, पहिला बादी समुदायका बालबालिकाहरुलाई काठमाडौं लगेर पढाउने गरेको थिएँ, त्यहाँ बालिकाहरु यौन शोषणमा पर्ने गरेको घटनापछि सुर्खेतमा बादी सरोकार मञ्च स्थापना गरेका हौ,’ उनले भने ।
अभावैअभावमा चलिरहेको मञ्चमा रहेका बालबालिका र किशोरकिशोरीलाई सुर्खेतका विभिन्न नीजि विद्यालयहरुले निशुल्क पढाईरहेका छन् । ‘हाम्रो आग्रहमा सुर्खेतमा रहेका सूर्योदय, सिद्धपाइला, अरनिको, चिल्ड्रेन प्याराडाइज, उसा बालवाटिका मावी, साउथ एशियन स्कालर्स, मोडल कलेज, इलाइट बोर्डिङ, मर्निङस्टार स्कुल लगाएतका नीजि विद्यालयले बालबालिका र किशोरकिशोरीलाई निशुल्क शिक्षा दिईरहनुभएको,’ अध्यक्ष बादीले भने । मञ्चको आश्रय लिएर १८ जनाले एसईइ उर्तिण गरिसकेका छन् । नीजि विद्यालयहरुले निशुल्क शिक्षा दिएपनि बालबालिकाहरुका लागि खाद्यान्न, लत्ताकपडा, बालबालिका र किशोरकिशोरीका लागि विद्यालय पोषाक, स्टेशनरी, कापी किताब व्यवस्थापनमा हम्मेहम्मे परिरहेको उनले बताए ।
बालबालिकाहरुलाई राख्न मञ्चले वीरेन्द्रनगर–१० मा छात्रछात्राको लागि छुट्टाछुट्टै भवन भाडामा लिएको छ । ‘छात्रा बस्ने भवनको मासिक ६० हजार र छात्र बस्ने भवनको ४० हजार रुपैयाँ घरभाडा छ, विद्युत र पानीको शुल्कसहित मासिक १ लाख ३० हजारसम्म खर्च लाग्छ,’ उनले भने । घरभाडा, खाद्यान्न, लत्ताकपडा, स्टेशनरीसहित मासिक ६ देखि ७ लाखसम्म खर्च जुटाउन सकस भईरहेको उनको भनाई छ ।
हाल विभिन्न सहयोगी संस्था र व्यक्तिहरुले सहयोगले चलिरहेको छ । बाल रोग विशेषज्ञ डा. नवराज केसीले वार्षिक तीन लाख रुपैयाँ सहयोग गरिरहेका छन् । उनले मञ्चको आश्रयमा रहेका बालबालिकाहरुको निशुल्क उपचार गर्ने गरेका छन् । लव एण्ड होप नेपालका अध्यक्ष शम्भु शंकरले निरन्तर सहयोग गरिरहेका छन् । ‘सहयोगी व्यक्तिहरुले आफ्नो जन्मदिन, बैवाहिक वर्षगाँठमा खाद्यान्न, शैक्षिक सामग्री सहयोग गर्नुहुन्छ, केहिसाता अघि सांसद सीताकुमारी राना र अधिकारकर्मी हीरासिंह थापाले खाद्यान्न र ११ जना बालबालिकाको विद्यालय पोषाक किन्न २५ हजार रुपैयाँ सहयोग गर्नुभएको थियो,’ अध्यक्ष बादीले भने ‘यस्तै सहयोगले जसोतसो बालबालिकाको पोलनपोषण गरिरहेका छौँ ।’
मञ्चले बालबालिका र किशोरकिशोरीको बसोबासका लागि अस्थायी संरचना निर्माणका लागि वीरेन्द्रनगर–४ मा नौ कट्टा जग्गा भाडामा लिएको छ । वार्षिक एक लाख ६२ हजार भाडा तिर्नेगरि लिएको जग्गामा अस्थायी संरचना निर्माणका लागि प्रदेश सरकार र स्थानीय सरकारलाई आग्रह गरिरहेको उनले बताए । १५ वर्षका लागि लिएको उक्त जग्गाको भाडा सुर्खेतका व्यवसायी रवि सापकोटाले बेहोर्ने बचन दिएका छन् । ‘केहि महिनाको घर भाडा तिर्न सकेका छैनौँ, भाडाको जग्गामा सरकारले अस्थायी संरचना निर्माण गरिदिए सहज हुनेछ,’ उनले भने ।
सुरु–सुरुमा आफ्नै व्यक्तिगत खर्चमा बालबालिकाको पालनपोषण, लत्ताकपडा, औषधि–उपचार र शिक्षा दिएको अध्यक्ष बादी बताउँछन् । आफुले सुर्खेत–दैलेख सडकखण्डमा चल्ने एउटा हाइस, सुर्खेतमा फेन्सी पसल र स्टेशनरी बेचेर मञ्चमा रहेका बालबालिकाको रेखदेख र पालनपोषणमा जुटेको उनको भनाई छ । हाल उनको परिवार पनि बालबालिकासँगै बस्दै आएका छन् । ‘पहिला पहिला बादी समुदाय गाउँघरमा नाँच्दै गाउँदै मागेर जीवन गुजारा चलाउथे, अहिले हामी शहर बजारमा सहयोगी व्यक्तिहरुसँग सहयोग मागेर मञ्चको खर्च धानिरहेका छौँ,’ उनले भने । मञ्चमा रहेका बालबालिका र किशोरकिशोरीको हेरचाहामा हिक्मतसहित पाँच युवाहरु खटिईरहेका छन् ।