कर्णालीको मुख्यमन्त्रीमा माओवादीका शर्मा नियुक्त, आलोपालो सरकारको नेतृत्व गर्ने

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त भएका छन् । माओवादी कर्णाली प्रदेशसभा संसदीय दलका नेता शर्मालाई प्रदेश प्रमुख तिलक परियारले बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनी रुकुम पश्चिम प्रदेशसभा क्षेत्र नं. २’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

संघीय सरकारमा सत्ता समिकरण गरेका दलहरुको सहमति अनुसार कर्णालीमा माओवादी केन्द्रले पूरा कार्यकाल नेतृत्व गर्ने निर्णय भएको थियो । तर आफूले मुख्यमन्त्री पाउनुपर्ने अडान राखेको एमाले कर्णाली प्रदेश संसदीय दलले ढाई ढाई बर्ष सरकारको नेतृत्व गर्नुपर्ने सहमतिमा समर्थन गरेको छ ।

यस्तै, बुधबार मुख्यमन्त्रीका लागि दाबी पेस गर्नु अघि सत्तारुढ गठबन्धनका मुख्य दुई घटकबीच आलोपालो सरकारको नेतृत्वबारे सहमति भएको छ । माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लका अनुसार एमाले र माओवादी केन्द्रबीच आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको हो । जसअनुसार पहिलो अढाई वर्ष नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व लिनेछ । त्यसपछि एमालेले सरकारको नेतृत्व गर्नेछ ।

error: Content is protected !!