सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा : आज शीर्ष नेताहरूले बुझ्ने

काठमाडौं । सत्तारुढ पार्टीहरूको कार्यदलले सरकारका न्यूनतम साझा कार्यक्रमको प्रस्तावित मस्यौदा शनिबार शीर्ष नेताहरूलाई बुझाउने भएको छ।

शुक्रबार अन्तिम रूप दिइएको मस्यौदा शनिबार दिउँसो शीर्ष नेता समक्ष पेश गर्ने कार्यदल सदस्य तथा राप्रपा महामन्त्री धवलशमशेर राणाले जानकारी दिए।

नेकपा एमालेका उपाध्यक्ष एवं  उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा रहेको कार्यदलले सत्तारुढ पार्टीका घोषणा पत्रमा समावेश एजेण्डा समेटेर न्यूनतम साझा कार्यक्रम तयार गरेको छ। कार्यक्रमा नागरिकता समस्या समाधान, भ्रष्टाचार र अनियमितताको छानविन, दिगो अर्थतन्त्र, रोजगारी निर्माण, उद्यमशीलता, सामाजिक सुरक्षा लगायत विषय समेटिएको छ।

पौडेल संयोजक रहेको कार्यदलमा माओवादीबाट वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मुकुल ढकाल, जसपाबाट रकम चेम्जोङ र राप्रपाबाट राणा सदस्य छन्।

यसैबीच सरकारका न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार भएलगत्तै जनता समाजवादी पार्टी जसपा सरकारमा जान तयार भएको छ। यसअघि सरकारलाई समर्थन मात्र दिएको जसपा साझा कार्यक्रम राम्रा आएको भन्दै सरकारमा जान तयार भएको नेता प्रदीप यादवले जानकारी दिए।

यसअघि सरकारमा जाने विषयमा निर्णय गर्न नसकेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा पनि सरकारमा जान सकारात्मक देखिएको छ।

error: Content is protected !!