काठमाडौँ । जिल्ला अदालत महोत्तरीले डाक्टर पंकज चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
श्रीमती नेहा चौधरीले दायर गरेको दाइजोसम्बन्धी कसुर मुद्दामा आज भएको थुनछेक बहसका क्रममा जिल्ला अदालत महोत्तरीका न्यायाधीश हरिप्रसाद शर्मा उपाध्यायको एकल इजलासले चौधरीलाई थुनामा पठाउन आदेश दिएको हो।
डाक्टर चौधरी र नेहाबीच सामाजिक परम्पराअनुसार नै विवाह भए पनि दाइजो नपाएको निहुँमा पटक–पटक आफूमाथि डाक्टर र परिवारका अन्य सदस्यबाट हिंसा भइरहेको नेहाले बताएकी थिइन्।
डाक्टर पंकजले आफूलाई घरमै छाडेको र काठमाडौँमा सँगै राख्न अनुरोध गर्दा दाइजोमा घर माग्दै हिंसा गरेको भन्दै नेहाले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दिएकी थिइन्।
रामगोपालपुर नगरपालिका–५ घर भएका डाक्टर पंकज चौधरी र औरही–१ की २१ वर्षीया नेहाको गत वर्ष फागुन २५ गते विवाह भएको थियो।