बाँके, पुस १३ । नेकपा एमालेले बाँके क्षेत्र नम्बर ३ मा पार्टी संगठनलाई चलायमान बनाउँदै मतदाता भेटघाट सुरु गरेको छ । जिल्ला अध्यक्ष तथा प्रतिनिधीसभाका उम्मेदवार किस्मत कक्षपति र जिल्ला सचिव तथा प्रदेश ३(१)का सांसद रत्न खत्री मंगलबार खजुरा ६ को वडा कमिटीको बैठकमा सहभागि हुनुभयो । कक्षपति र खत्रीले उढरापुर र सोनपुरका विभिन्न गाउँमा अगुवा नेता कार्यकर्तासँग पनि भेटघाट गर्नुभयो ।
निर्वाचनमा पराजित भएपनि आफुहरु जनताको साथमै रहेको एमाले बाँकेका अध्यक्ष कक्षपतिले बताउनुभयो । सरकारको प्रमुख दलको जिल्ला अध्यक्षको रुपमा निर्वाचनमा गरिएका विकास निर्माण र अन्य प्रतिवद्धता पुरा गर्न लागिपर्ने उहाँले बताउनुभयो । अध्यक्ष कक्षपतिका अनुसार जिल्ला कमिटीको बैठकलगत्तै वडातहमा पार्टीले विभिन्न गतिविधि गर्नेछ । लुम्विनी प्रदेशका सांसद खत्रीले जनताको प्रतिनिधीको रुपमा निरन्तर जनताको साथमा रहने बताउनुभयो । एमालेका युवा नेता तथा प्रदेश ३(२)का उम्मेदवार भिम वलीले धन्यवाद पत्र सहित मतदाताको घरदैलोमा पुगिरहनुभएको छ ।