बैंकको अव्यवहारिक नीतिको विरोधमा दोश्रो चरणको आन्दोलन

नेपालगञ्ज,पुस ८ । बैंक ब्याजदर तथा अव्यवहारिक नीतिको विरुद्ध आन्दोलनमा रहेको नेपालगंज उद्योग वाणिज्य संघले फेरी विरोधका कार्यक्रम सार्वजनिक गरेको छ । संघले विगत लामो समय देखी व्यवसायिक क्षेत्रका मुद्दाहरु उठाउने समाधानका लागि परैवी गर्ने देखि आवश्यकताका आधारमा विभिन्न आन्दोलनहरु गर्दै आइरहेको छ ।

संघले नेपाल राष्ट्र बैंकको पछिल्लो अव्यवहारिक नीति विरुद्ध पहिलो चरणको आन्दोलन अन्तर्गत यसअघि पत्रकार सम्मेलन, नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालय अगाडी प्रदर्शन र धर्ना दिइसकेको छ ।
पहिलो चरणको आन्दोलनबाट नेपाल राष्ट्र बैंक र सरकारले व्यवसायीका मुद्दाहरु सुनुवाई नगर्दा व्यवसायीहरु पिडामा छन्,नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अव्दुलवाहिद मन्सुरीले भन्नुभयो,–आर्थिक मन्दी छ, बैंकमा तरलता अभाव छ, बैंक ब्याज अत्याधिक महंगो छ, नेपाल राष्ट्र बैंकको नीतिले व्यवसायीहरु धरासायी हुने अवस्था छ । यस्तो अवस्थामा निजि क्षेत्र धरासायी भइरहँदा नेपाल राष्ट्र बैंक मुखदर्शक भइरहेको छ ।

राष्ट्र बैंकको अव्यवहारिक नीति विरुद्ध संघले दोश्रो चरणको कार्यक्रम अन्तर्गत कालोपट्टी सहित बृहत प्रर्दशन, संघको प्राङ्गणबाट बजार परिक्रमा गर्दै नेपाल राष्ट्र बैंक, नेपालगन्ज कार्यालय अगाडी गई धर्ना दिने कार्यक्रम तय गरिएको अध्यक्ष मन्सुरीले शुक्रबार विज्ञप्ती जारी गरि सार्वजनिक गर्नुभएको छ । पुस ११ गते सोमबार संघको प्रांगणबाट विरोध कार्यक्रम सुरु हुनेछ ।
संघले राष्ट्र बैंकको अव्यवहारिक निति खारेज गर्नुपर्ने, वर्षमा एक पटक चालु पुँजी ऋण चुक्ता गर्ने प्रावधान खारेज गर्नुपर्ने,चालु रहेको ओभरड्रफ्ट लोन यथावत राख्नुपर्ने,कारोवारको २०–२५ प्रतिशतको आधारमा कर्जा दिने प्रावधान संशोधन गर्नुपर्ने , बैंक ब्याज सिंगल डिजिट कायम गर्नुपर्ने,ब्याजदर नियन्त्रण गर्नुपर्ने, बैंकहरुको आतंक बन्द गर्नुपर्ने लगायतका माग सहित दोश्रो चरणको आन्दोलनका कार्यक्रम गर्न लागिएको संघका महासचिव चिरञ्जीवी वलीले बताउनुभयो ।

error: Content is protected !!