बाँकेमा अधिकाँश उम्मेदवारले बुझाए खर्च विवरण

नेपालगञ्ज, मङ्सिर २८ गते । बाँकेमा प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनका उम्मेदवाहरुले समय अगावै खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा पेश गरेका छन् ।  प्रतिनिधीसभाका ३ निर्वाचन क्षेत्र र प्रदेशसभाका ६ निर्वाचन क्षेत्रमा ८९ जनाले उम्मेदवारी दिएकोमा मङ्गलबार सम्म ६८ जनाले निर्वाचन आयोगले खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तले जानकारी दिनुभयो ।

“स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि एकदमै न्युनले मात्रै कार्यालयमा खर्च विवरण बुझाउनुभएको थियो,” प्रमुख पन्तले भन्नुभयो,– “ यसपटक भने समयभित्रै धेरैजना खर्च विवरण बुझाउन आउनुभएको छ । आयोगले निर्वाचन परिणाम सार्वजनिक भएको मितिले ३५ दिनभित्र निर्वाचनमा भएको खर्च विवरण पेश गर्न सूचना जारी गरेको हो ।

स्थानीय तहको निर्वाचन सम्पन्न भएको लामो समयसम्म पनि खर्च विवरण पेश नगर्ने उम्मेदवाहरुलाई आयोगले खर्चको सीमा अनुसार जरिबाना गरेपछि यस पटक प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवार भएकाहरुले निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै खर्च विवरण बुझाउन सूरु गर्नुभएको हो । स्थानीय तहमा बाँकेमा दुई हजार २६१ जना उम्मेदवार रहेकोमा १०४ जना उम्मेदवारले मात्रै खर्च विवरण बुझाउनुभएको थियो । जिल्ला निर्वाचन कार्यालयले समेत बारम्बार खर्च विवरण नबुझाए जरिबाना हुने भएकाले समयभित्रै बुझाउन उम्मेदवारहरुलाई आग्रह गरिरहेको छ ।

खर्च विवरण बुझाउनका लागि सम्वद्ध राजनीतिक दलले समेत समन्वय गरिरहेका छन् । निर्वाचनमा बाँकेमा क्षेत्र नम्बर १ मा ११, प्रदेश १(१) मा ८ र १(२) मा ७ जना उम्मेदवार रहनुभएको थियो । क्षेत्र नम्बर २ मा १६ जना, प्रदेश २(१)मा ११ र २(२)मा ११ जना उम्मेदवार रहनुभएको थियो । यसैगरी क्षेत्र नम्बर ३ मा ९ जना, प्रदेश ३(१)मा७ र ३(२) मा ९ जना गरि ८९ जना उम्मेदवार रहनुभएको थियो ।

error: Content is protected !!