नेपालगञ्ज, मंसिर २५ । बाँकेको ग्रामीण क्षेत्रमा रहेका ब्यक्तिहरुलाई रक्तदानका लागि प्रोत्साहन गरिने भएको छ । लोकप्रिय सन्देश दैनिकको आयोजनामा आईतबार नेपालगञ्जमा आयोजित त्रैमासिक रक्तदान कार्यक्रममा लुम्विनी प्रदेशका सांसद भण्डारीलाल यादवले जिल्लाको डुडुवा लगायतका स्थानमा रक्तदानका लागि प्रचारात्मक अभियान आवश्यक रहेको बताउनुभयो । परिवारका सदस्य विरामी हुँदा समेत स्वस्थ ब्यक्तिहरु पनि रगतका लागि अरुको सहारामा पर्ने गरेको भन्दै उहाँले हरेक स्वस्थ ब्यक्तिले त्रैमासिक रुपमा रक्तदान गर्नुपर्छ भन्ने भावनाको विकास जरुरी भएको बताउनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्धिन राईले नेपालगञ्जमा नियमित रगतको अभाव हुने भएकाले रक्तदानका लागि सम्पूर्ण पक्ष नियमित रक्तदानका लागि तयार हुनुपर्नेमा जोड दिनुभयो ।
नेपालगञ्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा कशौधन बैश्य समाजका अध्यक्ष नन्दलाल बैश्यले नियमित रक्तदानका लागि युवापुस्ता अग्रसर भईरहेको भन्दै हरेक स्वस्थ ब्यक्तिल नियमित रक्तदान गर्नुपर्ने सुझाव दिनुभयो ।
सामुदायीक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र जोशीले सबैभन्दा ठुलो दान रक्तदान भएकाले रक्तदान हरेक स्वस्थ ब्यक्तिले गर्नुपर्ने बताउनुभयो ।
नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्त संचार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी लगायतका कर्मचारीले प्राविधिक सहयोग गरेको कार्यक्रममा पत्रकार माधवराम वर्माले धन्यवाद ज्ञापन गर्नुभएको थियो । लोकप्रिय सन्देश दैनिकले करिब तीन बर्षदेखि त्रैमासिकरुपमा रक्तदान कार्यक्रम संचालन गर्दै आएको कार्यक्रम संयोजक दिनेश ठाकुरले बताउनुभयो ।