आर्मी क्लवका खडका नेपालगञ्ज म्याराथनको च्याम्पियन

नेपालगञ्ज, मंसिर २४ । विभागीय टोली त्रिभुवन आर्मी क्लबका खडकबहादुर खड्का आठौं धारा नेपालगन्ज म्याराथनको च्याम्पियन बनेका छन् ।
शनिवार नेपालगन्जमा भएको म्याराथनमा आर्मीका खडकले निर्धारित दुरी २ घण्टा २० मिनेट २८ सेकेन्डमा पुरा गरी विजेता बनेका हुन् । गत बर्ष एपीएफका किरणसिंह बोगटीले जितेका थिए । खड्का गत संस्करणमा चौथो स्थानमा आएका थिए । खड्काले चौथो संस्करण बाहेक हरेक संस्करणमा भाग लिदैं आउँदा यस बर्ष विजेता बनेका हुन् । म्याराथन करिअरमा यो उनको पहिलो स्वर्ण हो । नेपाल आर्मीकै नरेन्द्र रावत दोस्रो भए । उनी गत बर्ष पनि दोस्रो भएका थिए । नरेन्द्रले निर्धारित दुरी २ घण्टा २२ मिनेट २९ सेकेन्डमा पुरा गरेका थिए । आर्मीकै मोहनदेव जोशी २ घण्टा २४ मिनेट ३६ सेकेन्डमा दुरी पार गर्दै तेस्रो भए । म्याराथनमा कमलराज तिमिल्सेना २ घण्टा ४१ मिनेट ५७ सेकेन्डमा दुरी पुरा गर्दै चौथो स्थान हासिल गरे । रेवत दाहाल, यामदेव राई, बलहादुर सुनार र विकास यादव क्रमशः पाँचौंदेखि आठौं स्थानमा रहे । म्याराथनमा विजेता खड्काले एक लाख ५० हजार नगद सहित पदक र प्रमाणपत्र प्राप्त गरे । नरेन्द्रले ६० हजार, तेस्रो भएका मोहनदेवले ३० हजार, चौथो भएका कमलराजले १५ हजार नगद हात पारे ।
पहिलोपटक विश्व म्याराथनको सर्वोच्च नियमनकारी निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)बाट रुट प्रमाणीकरण भइ पुर्णकालीन सदस्यता प्राप्त गरेको नेपालको एकमात्र नेपालगन्ज म्याराथनमा नेपालमै पहिलोपटक इलेक्ट्रोनिक टाइमिङ चिप्स प्रविधि प्रयोग गरिएको थियो ।
त्यसैगरी इलेक्ट्रोनिक टाइमिङ चिप्स प्रयोग गरिएको महिला हाफ म्याराथनमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले उपाधि जित्न सफल भइन् । नवौं राष्ट्रिय खेलकुदकी दोहोरो स्वर्णधारी(५ हजार र १० हजार) मिटरकी च्याम्पियन सन्तोषीले निर्धारित दुरी १ घण्टा १६ मिनेट ४१ सेकेन्डमा पुरा गर्दै उपाधि जित्न सफल भएकी हुन् । सन्तोषी सातौं संस्करणकी पनि च्याम्पियन हुन् । उनले त्यतिबेला १ घण्टा १८ मिनेट ४८ सेकेन्डमा पुरा गर्दै उपाधि जित्न सफल भएकी हुन् । अन्जली चौहानी एक घण्टा २५ मिनेट १५ सेकेन्डमा दुरी पार गर्दै दोस्रो हुन सफल भइन् । अन्जु खड्काले एक घण्टा ३६ मिनेट ४४ सेकेन्डमा निर्धारित दुरी पार गर्दै तेस्रो हुन सफल भइन् । सन्तोषीले ६० हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गरिन् । दोस्रो भएकी अन्जलीले ३० हजार नगद र तेस्रो भएकी अन्जुले १५ हजार नगद, पदक र प्रमाणपत्र हात पारे । यस विधामा चौथोले १० हजार, पाँचौंले ८ हजार, छैटौंले ७ हजार, सातौंले ६ हजार र आठौंले ५ हजार नगद र प्रमाणपत्र प्राप्त गरे ।
१० किलोमिटर खुला पुरुषतर्फ मुकेश पाल प्रथम, भुवन राना द्धितीय र सुनिल रम्जाली तेस्रो भए । शीर्ष तीनले ३० हजार, १५ हजार र १० हजार नगद, पदक र प्रमाणपत्र हासिल गरे ।
५ किलोमिटर खुल्ला महिलतार्फ पुलिसकी राजपुरा पछाई प्रथम, राममाया बुढा दोस्रो र बिमला कार्की तेस्रो भए । शीर्ष तीनले २० हजार, १५ हजार र १० हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गरे । एम्स प्रमाणीकरण चार रुट ४२.१९५ किमी, २१.०९७ किमी, १० किमी र ५ किमी दुरीको दौडमा इलेक्ट्रोनिक टाइमिङ चिप्स लगाएर दौडिएका थिए ।
स्कुलस्तरीय ५ किलोमिटर छात्र दौडतर्फ अतुल गोडिया, सन्तोष विक दोस्रो र केशरजंग रायमाझी तेस्रो भए । स्कुलस्तरीय ३ किलोमिटर छात्रा दौडमा नेहा सापकोटा पहिलो, दीपशिखा शाही दोस्रो र निर्मला सिजापति तेस्रो भइन् । यी दुवै विधाका शीर्ष तीनले क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद, पदक र प्रमाणपत्र हासिल गरे ।
ह्वील चेयर दौडमा यज्ञबहादुर खत्री, महेश चौधरी दोस्रो र देउकुमारी थारु तेस्रो भए । उनीहरुले क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद, पदक र प्रमाणपत्र हासिल गरे ।
किड्स रनमा छात्रतर्फ एवं छात्रातर्फ जेनिशा थापा पहिलो र वैष्णभी मिश्र दोस्रो भए । उनीहरुलाई पदक, प्रमाणपत्र प्रमाणपत्र प्रदान गरियो ।
त्यस्तै बिभिन्न पेशा एवं व्यवसाय सम्बद्ध व्यक्तित्वको सहभागिता रहेको कर्पोरेट रनमा सानिमा बैंक(दाङ)का शाखा प्रबन्धक योगेश मल्ल, डाक्टर सन्दीप गुरुङ र दुर्गा गहतराज पहिलो, दोस्रो र तेस्रो भए । विजेतालाई पोखरा अन्तर्राष्ट्रिय म्याराथनको रन फर फनमा सहभागि हुन पाउनेछ । त्यसमा हवाई टिकटसहित दुई दिनको आवास तथा भोजनको व्यवस्थापन नेपालगन्ज म्याराथनले प्रदान गर्नेछ । म्याराथनमा ५० बर्षमाथि भारतीय सेनाका विनोद गुरुङ च्याम्पियन बन्दै पदक र प्रमाणपत्र प्राप्त गरे । म्याराथन पुरा गर्नेलाई फिनिसर पदक र प्रमाणपत्र प्रदान गरिएको छ ।

 

error: Content is protected !!