नेपालगञ्ज, असोज ३० गते । घरमा परिवारका सदस्यसँग बसेर आर्थिक उपार्जन हुन थालेपछि बाँकेको खजुरा गाउँपालिका ४ एफगाउँका किसान तिलवहादुर श्रीष मगरले फेरी वैदेशिक रोजगारीमा जाने सोच नै त्याग्नुभएको छ । मलेसियामा बिताएका १० वर्ष मध्ये उहाँले ६ बर्ष भन्दा बढि समय ड्रागन फर्ममा बिताउनुभयो । फर्कदा २०७३ सालमा एउटा ड्रागन फलको विरुवा साथमा लिएर आउनुभयो । त्यसलाई बारीमा रोप्नुभयो ।
उहाँ फेरी मलेसिया काममा जानु भयो । त्यसपछि मलेसियाबाट फर्केपछि दुईवर्षदेखि उहाँ फेरी विदेश नजाने गरि ड्रागन फल उत्पादनमा लाग्नुभएको छ । अहिले उहाँले करिब एक विघा जग्गामा ड्रागनको खेती गर्नुभएको छ । जसमध्ये १४ कठ्ठा जग्गा भाडामा लिनुभएको छ । पछिल्लो तीनवर्षदेखि मगरको दैनिकी नै ड्रागनफर्ममा बित्ने गरेको छ । एउटा विरुवाबाट सुरु गर्नुभएकोमा अहिले सातसय पोलमा दुई हजार ८०० विरुवा फल दिनेक्रममा रहेका छन् । ड्रागनले क्रमशः फल उत्पादन सुरु गरेपछि विक्रि वितरण पनि सुरु गर्नुभएको छ ।
विदेशमा कमाउने पैशा घरमा परिवारका सदस्यसँग बसेर कमाउन सकिन्छ भने किन विदेशमा काम गर्न जाने ?, मगरले भन्नुभयो,– मैले अब फेरी विदेन जाने सोच नै त्यागीसकेको छु ।
खाडी मुलुक मलेसियामा १० वर्ष श्रम गर्नुभएका मगरलाई त्यहाँको सीपले गाउँमा पनि रोजगारी दिन सफल भएको हो । उहाँको फर्ममा एउटा पोलमा चारवटा विरुवा रोपिएको छ । एउटा पोलबाट एक सिजनमा पहिलो वर्षमा १–२ किलो उत्पादन हुने गरेकोमा बढेर चौथो वर्षसम्म पुग्दा २०–२० किलो सम्म हुने मगरले बताउनुभयो । विद्यतुको पोल नढलेसम्म करिब २५–३० वर्षसम्म यसको उत्पादन राम्रो हुने उहाँको भनाई छ । गर्मी र आकाशे पानी बढि हुने भएकाले बाँके लगायत तराईका जिल्लामा यसको राम्रो उत्पादन हुने मगरले बताउनुभयो । दुईवर्षपछि बार्षिक २० लाख भन्दा बढिको आम्दानी हुने उहाँको भनाई छ । मगरले फलसँगै विरुवा समेत उत्पादन गरी विक्रि वितरण गर्दै आउनुभएको छ ।